दोलखा । गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ–री हिमालमा पाँच जनाको शव देखिएको सूचना आएपछि खोजी तथा उद्धारका लागि परिचालन गरिएको हेलिकोप्टर खराब मौसमका कारण घटनास्थलसम्म पुग्न सकेको छैन।
स्थानीयवासीले हिमालको आधार शिविर क्षेत्रमा पाँच वटा शव देखिएको जानकारी दिएपछि शवको पहिचान तथा सङ्कलनका लागि गत शुक्रबारदेखि हेलिकोप्टर उडानको प्रयास भइरहेको गौरीशङ्कर गाउँपालिका–९ का वडाध्यक्ष ङिमागेली शेर्पाले जानकारी दिनुभयो।
उहाँका अनुसार सिमीगाउँबाट हेलिकोप्टर उडानको प्रयास गरिए पनि लगातारको खराब मौसमका कारण घटनास्थलसम्म पुग्न सकिएको छैन।
स्थानीयबाट पाँच वटा शव देखिएको सूचना पाएपछि ड्रिम डेस्टिनेसनले शव सङ्कलन र पहिचानका लागि शुक्रबार यलुङ–री हिमाल क्षेत्रमा हेलिकोप्टर पठाएको थियो। तर मौसम प्रतिकूल भएपछि उद्धार टोलीले घटनास्थलमा पुगेर काम गर्न नसकेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
दोलखाका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले यलुङ–री हिमालको आधार शिविरमा पाँच वटा शव देखिएको सूचना प्राप्त भए पनि त्यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको बताउनुभयो। प्रारम्भिक अनुमानअनुसार ती शव गत वर्ष हिमपहिरोमा परी बेपत्ता भएका आरोहीहरूको हुन सक्ने उहाँले बताउनुभयो।
गत वर्ष कात्तिक १७ गते यलुङ–री हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी सात जना बेपत्ता भएका थिए। तीमध्ये दुई जनाको शव तत्कालै फेला परेको थियो भने पाँच जनाको अवस्था अझै अज्ञात थियो।
लगातार हिमपात भएपछि त्यतिबेला खोजी कार्य स्थगित गरिएको ड्रिम डेस्टिनेसनको टोलीले जनाएको छ। स्थानीयवासीले हिउँ पग्लिँदै गएपछि पुरिएका व्यक्तिका शव देखिन सक्ने बताएका थिए। अहिले पाँच वटा शव देखिएको सूचना आएपछि पुनः खोजी तथा उद्धारको प्रयास थालिएको हो।
गत वर्ष नेपाली तथा विदेशी गरी विभिन्न समूहका १५ जना आरोहणका लागि समुद्री सतहबाट पाँच हजार ६३० मिटर उचाइमा रहेको यलुङ–री हिमालतर्फ गएका थिए। कात्तिक १७ गते उनीहरू हिमपहिरोमा परेका थिए।
हिमपहिरोमा परेका आठ जनाको सकुशल उद्धार गरिएको थियो। दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का पदम तामाङ र सोलुखुम्बुका मेरे कार्कीको शव भने त्यतिबेलै फेला परेको थियो।
हिमपहिरोमा परी फ्रान्सका मेनफेडी क्रिस्टिना एन्ड्रे, इटालीका पाउलो कोको र मार्कोस किरचिलर, जर्मनीका ज्याकोब इसरिवर तथा क्यानडाका मार्को डि मारसेलो गरी पाँच जना विदेशी आरोही बेपत्ता भएका थिए।