२०८३ साउन २२ शुक्रबार

नगरपालिकाका नगरप्रमुख रवी केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

ई आर्थिक    शुक्रबार, साउन २२ २०८३
114
Shares
नगरपालिकाका नगरप्रमुख रवी केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवी केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७६/७७ मा सहकारी संस्था छनोट कार्यविधि विपरीत योग्यता नपुगेको आठबीसकोट दुग्ध सहकारी संस्था लिमिटेडलाई चिस्यान केन्द्र निर्माणका लागि अनुदान उपलब्ध गराएको तथा सोही संस्थाका लागि नगरपालिकाको बजेटबाट गाडी खरिद गरी सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाएको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार नगरप्रमुख रवी केसीविरुद्ध ८० लाख २३ हजार ५१ रुपैयाँ बिगो दाबी गरिएको छ।

यस्तै, पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका तत्कालीन निमित्त कार्यालय प्रमुख सुवर्ण सिंह ठकुरी, तत्कालीन निमित्त कार्यालय प्रमुख तथा पशु स्वास्थ्य अधिकृत ज्ञानु कुमार शर्मा, पशु सेवा अधिकृत शेरबहादुर खड्का, लेखा अधिकृत यमबहादुर पुन, कृषि अधिकृत मिनबहादुर केसी तथा प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहविरुद्ध जनही ९१ लाख १७ हजार ८७३ रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

यसैगरी, आठबीसकोट दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष जनक बटाला, उपाध्यक्ष वीरबहादुर रोकाय, सचिव प्रकाश खड्का र कोषाध्यक्ष जुनकुमारी चनेलविरुद्ध पनि मुद्दा दायर गरिएको छ। उनीहरुविरुद्ध चिस्यान केन्द्र निर्माणतर्फ ९१ लाख १७ हजार ८७३ रुपैयाँ र गाडी खरिदतर्फ ८० लाख २३ हजार ५१ रुपैयाँ बिगो दाबी गरिएको छ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम फरक–फरक बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवानाको मागदाबीसहित बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij