काठमाडौं। विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले अधिकारीलाई धरौटीमा छाड्ने आदेश दिएको हो। अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार अधिकारीले तोकिएको धरौटी बुझाएर उक्त मुद्दामा रिहा हुन सक्नेछन्।
तर, अधिकारीविरुद्ध अन्य मुद्दाहरू पनि विचाराधीन रहेकाले यस मुद्दामा धरौटी बुझाए पनि उनी तत्काल थुनामुक्त भने नहुने जनाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाखमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित राजस्व छुट प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
आयोगका अनुसार ठेक्का सम्झौतामा ठेकेदार कम्पनीले नै राजस्व तिर्नुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि त्यसको विपरीत राजस्व छुट दिइएको आरोप छ। सोही प्रकरणमा आरोपितहरूबाट ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बराबरको बिगो असुल गर्न मागदाबी गरिएको छ।
यसअघि यही राजस्व छुटसम्बन्धी मुद्दामा संलग्न अन्य आरोपितहरू पनि धरौटीमा रिहा भइसकेका छन्।