तनहुँ। तनहुँका विभिन्न बजार क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि उपभोक्ताहरू सिलिन्डर लिन घण्टौँ लाइनमा बस्न बाध्य भएका छन्। तर जिल्ला प्रशासन कार्यालय तनहुँले भने ग्यास आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पार्दै अभावको हल्ला र अनावश्यक सञ्चयका कारण अस्वाभाविक चाप सिर्जना भएको जनाएको छ।
बजारमा ग्यास सहज रूपमा नपाएको भन्दै उपभोक्ताबाट निरन्तर गुनासो आएपछि प्रशासनले बजार अनुगमन तथा ग्यास व्यवसायी र सरोकारवालासँग छलफल गरेको थियो। छलफलपछि ग्यासको आपूर्ति विगतझैँ नियमित रहेको निष्कर्ष निकालिएको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार बजारमा ग्यास सकिने हल्ला फैलिएपछि धेरै उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर घरमै सञ्चय गर्न थालेका कारण अस्थायी अभावको अवस्था देखिएको हो।
‘ग्यासको आपूर्ति नियमित छ। पहिले वितरण गरिएको आधा सिलिन्डरलाई अहिले भरिएको सिलिन्डरले प्रतिस्थापन गरिँदैछ। तर अभाव हुने हल्लाका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास थुपार्न खोज्दा बजारमा चाप बढेको हो,’ प्रमुख जिल्ला अधिकारी तिवारीले बताए।
कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही हुने चेतावनी
प्रशासनले ग्यासका अधिकृत विक्रेता, थोक व्यवसायी तथा जिल्ला उद्योग वाणिज्य संघसँग नियमित समन्वय र अनुगमन भइरहेको जनाएको छ।
कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा बिक्री–वितरणमा अनियमितता गर्ने जो–कोहीमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
साथै, ग्यासको आयात र वितरण नियमित भइरहेकाले कुनै पनि भ्रम वा अफवाहको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरिएको छ। आवश्यक परे नेपाल आयल निगमसँग समन्वय गरेर जिल्लामा थप ग्यास आपूर्ति गरिने पनि प्रशासनले जनाएको छ।
लक्षित वर्गका लागि टोल–फ्री सेवा
नियमित विक्रेताबाट ग्यास प्राप्त गर्न कठिनाइ हुने ज्येष्ठ नागरिक, एकल महिला, दीर्घरोगी, छात्रावासमा बस्ने विद्यार्थी, अपाङ्गता भएका व्यक्ति तथा आश्रममा रहेका व्यक्ति वा संस्थाका लागि जिल्ला प्रशासन कार्यालयले विशेष व्यवस्था गरेको छ।
यस्ता सेवाग्राहीले कार्यालय समयभित्र टोल–फ्री नम्बर १८१०५०००३८८ मा सम्पर्क गरी ग्यास उपलब्ध गराउन सहयोग माग्न सक्ने प्रशासनले जनाएको छ।
यससँगै प्रशासनले सबै ग्यास डिलर तथा वितरकलाई बिक्री–वितरण प्रणाली प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन निर्देशन दिएको छ, ताकि उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न सकून्।