काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूसँग छलफल गर्दै हुनुहुन्छ।
आगामी आर्थिक सुधारका कार्यक्रम तथा बजेटमार्फत घोषणा गरिएका नीतिहरूको प्रभावकारी कार्यान्वयनमा बैंकिङ क्षेत्रको भूमिका, वित्तीय प्रणालीको वर्तमान अवस्था तथा निजी क्षेत्रमा कर्जा प्रवाहलगायत विषयमा छलफल गर्न अर्थमन्त्रीले सिइओहरूलाई मन्त्रालयमा आमन्त्रण गर्नुभएको हो।
अर्थ मन्त्रालयका अनुसार दिउँसो ३ बजे मन्त्रालयमा हुने उक्त छलफलमा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गमा सूचीकृत २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहनेछ।
छलफलमा वित्तीय बजारमा देखिएका चुनौती, लगानी तथा कर्जा विस्तार, ब्याजदरको अवस्था, बैंकिङ क्षेत्रका समस्या र समाधानका उपायबारे समेत विचार–विमर्श हुने अपेक्षा गरिएको छ। सरकारद्वारा अघि सारिएका आर्थिक सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निजी बैंकिङ क्षेत्रसँगको समन्वयलाई सुदृढ बनाउने उद्देश्यले छलफल आयोजना गरिएको मन्त्रालयले जनाएको छ।