काठमाडौं । होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई रोजगारीका अवसर उपलब्ध गराउने उद्देश्यले युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा सम्बन्धित निकायबीच मंगलबार महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ।
बैठकमा भक्तपुरको खरिपाटी, बोडे र चाँगुनारायण, काठमाडौंको रानीवन तथा काभ्रेपलाञ्चोकको बनेपास्थित होल्डिङ सेन्टरमा रहेका १२५ जना सुकुम्बासीमाथि गरिएको रोजगारी तथा तालिम आवश्यकता मूल्याङ्कनको प्रतिवेदनमाथि छलफल गरिएको मन्त्रालयले जनाएको छ।
मूल्याङ्कनका क्रममा सहभागीहरू सरसफाइ, माली, साना व्यवसाय सञ्चालन, सुरक्षा गार्ड, हाउसकिपिङ, ड्राइभिङ, पेन्टिङ लगायतका क्षेत्रमा काम गर्न इच्छुक रहेको पहिचान भएको छ। उनीहरूलाई उपयुक्त रोजगारीसँग आबद्ध गराउन पूर्वाधार विकास मन्त्रालय, सडक विभाग तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँग समन्वय गरी तालिम प्रदायक संस्थामार्फत आवश्यक सीपमूलक तालिम सञ्चालन गर्ने र त्यसपछि रोजगारीका लागि आवश्यक प्रक्रिया तत्काल अघि बढाउने निर्णय बैठकले गरेको छ।
बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री यादवले सुकुम्बासीलाई रोजगारी उपलब्ध गराउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै सबै सम्बन्धित निकायले प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिएका थिए।
बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव हेमराज तामाङ, पूर्वाधार विकास मन्त्रालयका उपसचिव महेशबहादुर थिङ, सडक विभागका उपमहानिर्देशक श्यामबहादुर खड्का, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक मणिराम गौतम तथा अव्यवस्थित बसोबास तथा सुकुम्बासी समस्या समाधान समितिका अध्यक्ष आनन्द भाटलगायतको उपस्थिति रहेको थियो।