बुटवल । एसियाली विकास बैंक (एडीबी) ले रुपन्देहीको सैनामैना नगरपालिकामा पूर्वाधार र पर्यावरण संरक्षणसँग सम्बन्धित तीन वटा महत्वाकांक्षी आयोजनामा लगानी प्रक्रिया अघि बढाएको छ। तीमध्ये ६५ किलोमिटर लामो नगर चक्रपथ निर्माणको काम जारी रहेको छ भने राजापानी र बाह्रबिघा क्षेत्रमा सिमसार विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ।
सैनामैना नगरपालिकाले निर्माण गरिरहेको ६५ किलोमिटर लामो चक्रपथलाई नेपालकै सबैभन्दा लामो नगरस्तरीय चक्रपथका रूपमा लिइएको छ। नगरपालिकाका अनुसार हालसम्म ४५ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ भने बाँकी २० किलोमिटर सडक निर्माणका लागि ठेक्का सम्झौता भइसकेको र छिट्टै निर्माण कार्य अघि बढाइने तयारी गरिएको छ।
चक्रपथसँगै सडक, नाला, फुटपाथ तथा सौन्दर्यकरणसम्बन्धी प्याकेजको कुल लागत करिब ९३ करोड रुपैयाँ रहेको छ। यसमध्ये करिब ७० करोड रुपैयाँ एडीबीले लगानी गर्नेछ भने बाँकी रकम नेपाल सरकार र स्थानीय तहको साझेदारीमा व्यवस्थापन गरिने नगरप्रमुख फणेन्द्रप्रसाद शर्माले जानकारी दिएका छन्।
यसैबीच, सैनामैना–११ स्थित सालझण्डी सामुदायिक वनभित्र रहेको राजापानी क्षेत्र लाई सिमसारका रूपमा विकास गर्ने योजनामा पनि एडीबीले लगानीको तयारी गरेको छ। हाल उक्त आयोजनाको डीपीआर तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।
राजापानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष श्यामबहादुर रानाका अनुसार वनभित्र प्राकृतिक रूपमा पानी जम्ने र बग्ने क्षेत्रको संरक्षण गर्दै पर्यावरणीय महत्वको सिमसार क्षेत्रका रूपमा विकास गर्ने योजना अघि बढाइएको हो।
नगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज न्यौपानेले डीपीआर तयार भएपछि एडीबीसँग लगानी सम्झौता गरी निर्माण प्रक्रिया अघि बढाइने बताए।
स्थानीय समुदायको सक्रिय संरक्षणपछि राजापानी सामुदायिक वनमा हरियाली पुनः फर्किएको छ। वनभित्र बग्ने जर्लैयाखोलामा अहिले बाह्रै महिना पानी बग्ने गरेको छ। यही प्राकृतिक विशेषतालाई आधार बनाएर क्षेत्रलाई पर्यावरण संरक्षण र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य नगरपालिकाले लिएको छ।
नगर उपप्रमुख बिना रानाले सामुदायिक वन संरक्षण प्रभावकारी बनेपछि वन पुनर्जीवित हुनुका साथै पहिले सुक्ने खोला पनि वर्षभरि बग्न थालेको उल्लेख गर्दै राजापानीलाई उत्कृष्ट सिमसार तथा पर्यावरणीय पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने बताइन्।
यसैगरी, सैनामैना–४ स्थित बाह्रबिघा पोखरी लाई पनि सिमसार तथा पर्यापर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ। वर्षभरि पानी रहने, सारसलगायत विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थान रहेको यो पोखरीलाई पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने सम्भाव्यता अध्ययन एडीबीले गरिरहेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाको विश्वास छ कि यी आयोजनाले पूर्वाधार विकाससँगै वातावरण संरक्षण, जैविक विविधता प्रवर्द्धन र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउनेछन्।