२०८३ साउन १८ सोमबार

३० महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

ई आर्थिक    सोमबार, साउन १८ २०८३
57
Shares
३० महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

महेन्द्रनगर ।  चट्टानी पहाड, भौगोलिक विकटता तथा अवरोध नहुँदा पनि कञ्चनपुरको ६२ किलोमिटर हुलाकी सडक साढे नौ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेन। पटक/पटक ठेक्काको म्याद थपेर निर्माण व्यवसायीलाई काम गर्ने मौका पनि दिइयो।

स्थानीयवासीदेखि सांसद, मन्त्रीदेखि राजनीतिज्ञहरुले समेत काम समयमा सम्पन्न गराउन आग्रह गरे तर अझै हुलाकी सडक नयाँ ठेक्का प्रक्रियामा रुमलिएको छ। ३० महिनाभित्र निर्माण सक्नेगरी २०७३ फागुनको तीन चरणमा ठेक्का सम्झौता भइ निर्माण सुरु भएको जिल्लाको दक्षिण क्षेत्रको हुलाकी सडक अझै पूरा हुन सकेको छैन।

‘पटक/पटक सम्झौता गरेर सडकको पहिलो र अन्तिम प्याकेज (डोकेबजार-बेलौरी र बेल्डाडी-दैजी खण्ड) सकिए पनि बीचको प्याकेज पुनः नयाँ ठेक्का दिने प्रक्रियामा छौँ’, हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले भने, ‘यो योजना समयमा सम्पन्न नहुनुमा ठेकेदारको प्राथमिकतामा परेन, हामीले काम गर्ने सबैखाले वातावरण तयार गरेर दिँदा पनि उनीहरु कामप्रति गम्भीर भएनन्।’

डोकेबजारदेखि बेलौरीसम्मको पहिलो प्याकेज (२० किमी) सडक, सडक डिभिजन कार्यालय महेन्द्रनगरलाई हस्तान्तरणको प्रक्रियामा रहेको उनको भनाइ छ। ‘अन्तिम २४ किलोमिटर बेल्डाडी-दैजी खण्डको काम पनि सकिएर डिएलपी (त्रुटि दायित्व अवधि) मा छ’, प्रमुख लामिछानेले भने, ‘म्याद थप, भुक्तानीलगायतका काममा कार्यालयबाट पूर्ण सहयोग रहँदा पनि ठेकेदारले पेटी ठेकेदार राख्ने। कामको भुक्तानी नदिनेलगायतका बदमासीले वर्षौँसम्म योजना सकिएन।’

उनले योजनाअन्तर्गत बेलौरीदेखि बेल्डाडीसम्मको बीचको प्याकेजअन्तर्गत निर्माण कम्पनी बाबा हंस सिद्धीसाई जेभीले ११ किलोमिटर सडक कालोपत्र गरेपनि धेरै ठाउँमा भत्किसकेको बताए।

‘सो प्याकेजमा ठेकेदारले लापरबाही गरेपनि ठेक्का तोडेर अहिले नयाँ ठेक्काका लागि स्टिमेट तयार गरिरहेका छौँ। डेढ महिनाभित्र नयाँ ठेक्का खुल्छ’, उनले भने, ‘सोही खण्डमा भारतले दशगजालगायत सीमा विवाद गर्दा एक पचुई क्षेत्रमा एक हजार चारसय मिटर खण्ड कालोपत्रे गर्न नसकिने भयो। त्यो भाग छोडेर काम अघि बढाइने छ।’

नयाँ ठेक्का आह्वान गर्नुपर्ने बीचको प्याकेज यसअघि ४१ करोड रूपैयाँमा ठेक्का सम्झौता भएको थियो भने हुलाकी सडक कार्यालयबाट निर्माण व्यवसायीले २८ करोड रूपैयाँ भुक्तानीसमेत लिइसकेको थियो।

यहाँको बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले बेलौरी-बेल्डाडी खण्डको निर्माण पूरा गर्न धेरै पटक पहल भएपनि सडक नबनेको दुखेसो पोखे। ‘हामीले यो बीचको अवधिमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई सडक निर्माणका विषयमा ज्ञापनपत्र बुझायौँ’, उनले भने, ‘भारतीय पक्षबाट अवरोध भएको भागमा कालोपत्र गर्न भारतीय एसएसबीसँग पनि पहल गर्यौँ तर उपलब्धि भएन।’

उनले उक्त सडकखण्ड अहिले हिलाम्मे हुँदा स्थानीयवासीलाई हिँडुलमा समेत समस्या रहेको बताए। ‘हुलाकी सडक योजना कार्यालयबाट नयाँ ठेक्का हुँदैछ भन्ने सुनिएको छ’, उनले भने, ‘नयाँ ठेक्का खुलेपछि व्यवस्थित गर्दै समयमा निर्माण सक्नेगरी लाग्नुपर्छ। यो सडक नबन्दा जनप्रतिनिधिको पनि बेइज्जतको स्थिति भइसक्यो। सडक सम्पन्न नहुँदा दुःखी छौँ।’ रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij