काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसिया जाने नेपाली श्रमिकका लागि निश्चित वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई फाइदा पुग्ने गरी ‘सिन्डिकेट’ बनाउन लागिएको भन्ने समाचार र सामाजिक सञ्जालमा फैलाइएका सूचनालाई निराधार भएको जनाएको छ।
सोमबार जारी प्रेस विज्ञप्तिमार्फत मन्त्रालयले पछिल्ला केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मन्त्रालयलाई समेत जोडेर प्रकाशित तथा प्रसारित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
मन्त्रालयले वैदेशिक रोजगारीलाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी र श्रमिकमैत्री बनाउने नीतिमा आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै कुनै पनि समूह वा सीमित व्यवसायीको एकाधिकार कायम हुने गरी प्रतिस्पर्धा सीमित गर्ने कार्य स्वीकार्य नहुने स्पष्ट पारेको छ।
विज्ञप्तिमा मौजुदा नीति, कानुन र प्रक्रियामा सुधार गर्दै सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने काम भइरहेको उल्लेख गरिएको छ। यस्तो अवस्थामा तथ्यहीन अफवाह र भ्रम फैलाएर विषयान्तर गर्ने प्रयास भएको भन्दै मन्त्रालयले यस्ता सूचनाको पछि नलाग्न सबै सरोकारवालासँग आग्रह गरेको छ।
मन्त्रालयका अनुसार मलेसियासँग सम्बन्धित उक्त विषयमा सम्बन्धित गन्तव्य मुलुकबाट समेत कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन। मन्त्रालयले वैदेशिक रोजगारलाई अझ स्वच्छ, नैतिक, पारदर्शी र प्रतिस्पर्धी बनाउन गन्तव्य मुलुकसँग कूटनीतिक पहल जारी रहेको जनाउँदै सबै पक्षसँग सहयोग र सहकार्यको अपेक्षा गरेको छ।
प्रेस विज्ञप्तिमा मन्त्रालयका प्रवक्ता तथा सहसचिव पिताम्बर घिमिरेले मलेसिया रोजगारीमा सिन्डिकेट खडा गर्न लागिएको भन्ने दाबी तथ्यमा आधारित नभएको र त्यस्ता भ्रमपूर्ण सूचनाबाट सचेत रहन आग्रह गरेका छन्।
