२०८३ साउन १४ बिहिबार

अर्जेन्टिना र खेलाडीविरुद्ध फिफाको अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढ्यो

ई आर्थिक    बिहिबार, साउन १४ २०८३
703
Shares
अर्जेन्टिना र खेलाडीविरुद्ध फिफाको अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढ्यो

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले विश्वकप फाइनलपछि भएका घटनालाई लिएर अर्जेन्टिना फुटबल संघ (एएफए) र केही खेलाडीविरुद्ध अनुशासनात्मक प्रक्रिया अघि बढाएको छ।

फिफाले बुधबार सार्वजनिक गरेको अनुशासनात्मक मुद्दाको सूचीअनुसार समर्थकहरूले प्रयोग गरेका भेदभावपूर्ण नारा र इशारा, फाइनलपछिको झडप तथा दर्शकहरूले मैदानमा वस्तु फ्याँकेको घटनालाई आधार बनाएर आरोप लगाइएको हो।

जुलाई १९ मा स्पेनविरुद्धको फाइनलपछि भएको झडपका क्रममा अर्जेन्टिनाका मिडफिल्डर लिआन्ड्रो पारेडेसमाथि तीनवटा आक्रमणसम्बन्धी आरोप लगाइएको छ। त्यस्तै, डिफेन्डर नाहुएल मोलिनामाथि दुई तथा प्रशिक्षक रोबर्टो आयलामाथि एक आरोप दर्ता गरिएको फिफाले जनाएको छ।

मोलिना र थियागो अल्माडामाथि खेलभावनाविपरीत व्यवहार गरेको आरोप पनि लगाइएको छ। यही प्रकृतिको आरोप स्पेनका मिडफिल्डर गाभीविरुद्ध समेत दर्ता गरिएको छ।

यसअघि सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गरेपछि अर्जेन्टिनी खेलाडीहरूले ‘लास माल्भिनास छोरा अर्जेन्टिना’ (माल्भिनास अर्जेन्टिनाकै हुन्) भन्ने सन्देश लेखिएको ब्यानर प्रदर्शन गरेका थिए। अर्जेन्टिनाले फकल्याण्ड टापुलाई ‘इस्लास माल्भिनास’ भनेर दाबी गर्दै आएको छ। सन् १९८२ मा यही टापुलाई लिएर अर्जेन्टिना र बेलायतबीच १० सातासम्म युद्ध भएको थियो, जसमा बेलायत विजयी भएको थियो।

उक्त ब्यानर प्रदर्शनबारे बेलायती सरकारी अधिकारीहरूले फिफासँग अनुसन्धानको माग गरेका थिए। त्यसपछि फिफाले खेलकुद प्रतियोगितालाई गैर-खेलकुद प्रकृतिको राजनीतिक सन्देश प्रवाहका लागि प्रयोग गरिएको भन्दै औपचारिक रूपमा अनुशासनात्मक आरोप दर्ता गरेको हो।

फिफाले आरोप लागेका सबै पक्षलाई आफ्नो स्पष्टीकरण पेश गर्ने अवसर प्रदान गरिसकेको जनाएको छ। प्राप्त जवाफका आधारमा फिफाको अनुशासन समितिले उपयुक्त समयमा अन्तिम निर्णय गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij