सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको सामुदायिक झडपको घटनाबारे अनुसन्धान गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समिति बुधबार घटनास्थल पुगेको छ।
गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा रहेको पाँच सदस्यीय टोलीले घटनास्थलको निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दा, सरोकारवाला निकाय र पीडित परिवारसँग छलफल सुरु गरेको हो।
समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) समेत सदस्यका रूपमा रहेका छन्। टोलीले झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका ३० वर्षीय ओमप्रकाश मेहताको परिवारसँग भेट गरी घटनाको विवरण लिएको छ।
मेहता परिवारले उठाएका माग, गुनासा र चासोलाई समेत समितिले अभिलेखीकरण गरेको जनाएको छ।
छानबिन समिति संयोजक थापाले घटनाका सबै पक्षको अध्ययन गरी स्थलगत तथ्य, स्थानीयको धारणा तथा प्राप्त सुझावका आधारमा विस्तृत प्रतिवेदन गृह मन्त्रालयमा बुझाइने बताए।
उनले घटनाको वास्तविक अवस्था निष्पक्ष रूपमा प्रस्तुत गर्नु समितिको मुख्य जिम्मेवारी रहेको उल्लेख गरे।