२०८३ साउन १२ मंगलबार

पूर्वी नेपालमा विद्युत आपूर्ति सुधार्न प्राधिकरणको उच्च नेतृत्व स्थलगत अनुगमनमा

ई आर्थिक    आइतबार, साउन १० २०८३
646
Shares
पूर्वी नेपालमा विद्युत आपूर्ति सुधार्न प्राधिकरणको उच्च नेतृत्व स्थलगत अनुगमनमा

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत प्राधिकरणले मोरङ र सुनसरीका विद्युत पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन सुरु गरेको छ।

विराटनगरलगायत पूर्वी क्षेत्रमा पटक–पटक विद्युत अवरुद्ध हुने र झ्याप्प–झ्याप्प बत्ती जाने समस्या बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले तत्काल समाधानका लागि आवश्यक पहल गर्न प्राधिकरण नेतृत्वलाई निर्देशन दिनुभएको थियो।

सोही निर्देशनअनुसार प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठ र वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवं उपकार्यकारी निर्देशक राजन ढकालसहितको टोली पूर्वी क्षेत्रमा पुगेको हो।

टोलीले प्रादेशिक कार्यालय प्रमुख तथा मोरङ, सुनसरीलगायत जिल्लाका वितरण शाखा प्रमुखहरूसँग विद्युत आपूर्तिको अवस्था, देखिएका समस्या र समाधानका उपायबारे छलफल गरेको छ। प्रादेशिक कार्यालयमा २४ जना कार्यालय तथा केन्द्र प्रमुखसँग भएको समन्वयात्मक बैठकमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।

अनुगमनका क्रममा टोलीले ट्रान्सफर्मर मर्मत कार्यशालाको निरीक्षण गर्नुका साथै दुहबी ग्रिड महाशाखाअन्तर्गतको दुहबी सबस्टेसनको अवस्थाबारे जानकारी लिएको छ। सबस्टेसनको क्षमता र सञ्चालन अवस्थालाई प्रभावकारी बनाउन आवश्यक तयारी तीव्र पार्न निर्देशन दिइएको छ।

त्यसैगरी, सुनसरीको बर्जुस्थित १३२ केभी सबस्टेसन निर्माण तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित कर्मचारी र निर्माण कम्पनीलाई स्पष्ट कार्यादेश दिइएको छ। मोरङको केरङस्थित सबस्टेसन पनि एक महिनाभित्र सम्पन्न गर्ने गरी कार्यतालिका बनाएर निर्माण अघि बढाउन निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।

दुवै सबस्टेसन पूर्वी नेपालको विद्युत आपूर्ति प्रणालीका लागि रणनीतिक रूपमा महत्वपूर्ण रहेकाले आवश्यक समन्वय र सहजीकरण गर्न कर्मचारीलाई निर्देशन दिइएको छ। साथै निर्माण कार्यलाई समयमै सम्पन्न गर्न पर्याप्त मजदुर परिचालन गर्न ठेकेदार कम्पनीलाई समेत निर्देशन दिइएको छ।

प्राधिकरणका अनुसार पूर्वी क्षेत्रमा सञ्चालन भइरहेका अन्य आयोजना, प्रादेशिक कार्यालय तथा वितरण शाखाहरूको अनुगमनसमेत जारी छ। विद्युत सेवालाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन कर्मचारीलाई जिम्मेवारीपूर्वक काम गर्न तथा आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij