काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको रिक्त विकास आयुक्त पदमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।
मन्त्रिपरिषद्ले स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधारका लागि कैलालीमा रहेको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ।
त्यस्तै, सरकारले शैक्षिक क्षेत्रसँग सम्बन्धित दुईवटा नियमावली पनि स्वीकृत गरेको छ। बैठकले ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’ तथा ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ स्वीकृत गर्ने निर्णय गरेको हो।
प्रशासनिक तथा कानुनी सुधारतर्फ सरकारले ‘कारागार नियमावली, २०८३’ समेत स्वीकृत गरेको छ। यससँगै मानव अधिकार र सुशासन प्रवर्द्धनका लागि मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना र भ्रष्टाचारविरुद्धको दोस्रो रणनीति योजनालाई पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।
सरकारका प्रवक्ता पोखरेलले मन्त्रिपरिषद् बैठकले प्रशासन, शिक्षा, स्वास्थ्य, सुशासन र कानुनी सुधारसँग सम्बन्धित विभिन्न निर्णय गरेको जानकारी दिए।