काठमाडौं । नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी), यसका मुख्य ठेकेदार कम्पनी डुसान इर्नबिलिटी तथा उप ठेक्केदारहरू (सब–कन्ट्र्याक्टरहरू) एन्ड्रिट्ज र पावर चाइनाले बाढीबाट प्रभावित कामदार तथा कर्मचारीका परिवारलाई तत्काल आर्थिक राहत उपलब्ध गराउन थालेका छन् ।
उक्त आर्थिक सहयोग सम्बन्धित कर्मचारीको बैंक खातामा वा प्रमाणित नजिकको हकदारलाई उपलब्ध गराइँदै छ । नजिकको हकदारले आफ्नो पहिचान प्रमाणीकरण तथा भुक्तानी प्रक्रिया अघि बढाउन सम्बन्धित ठेकेदार कम्पनीसँग सम्पर्क गरी आवश्यक समन्वय गर्न सक्ने जनाइएको छ ।
तत्कालको आर्थिक राहतका अतिरिक्त, एनडब्लूईडीसी तथा ठेकेदार कम्पनीहरूले बाढीबाट प्रभावित कामदार, कर्मचारी तथा बेपत्ता कामदारका परिवारलाई मनोसामाजिक परामर्श सेवासमेत उपलब्ध गराइरहेका छन् ।
यो तत्कालीन राहत प्याकेजका साथै, २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत कम्पनीहरूले बाढी प्रभावित कामदार तथा कर्मचारीका लागि कानुन एवं कम्पनीको नीतिअनुसार सहयोग तथा क्षतिपूर्ति प्याकेज तयार गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिएका छन् ।
घाइते अवस्थामा उद्धार गरिएका कामदारहरूको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको जनाइएको छ । कम्पनीहरूले घाइते कामदारहरूको उपचारमा निरन्तर सहयोग गरिरहेको जानकारी दिएका छन् ।
उद्धार तथा खोजी कार्यका सम्बन्धमा, डुसानबाट थप २१ सदस्यीय उद्धार टोली भदौ २३ गते (८ सेप्टेम्बर) आयोजनास्थलको क्याम्पमा पुगिसकेको जनाएको छ । टोलीले थप खोजी तथा उद्धार कार्यलाई सहज बनाउन अस्थायी क्याम्प स्थापना गर्न मिल्ने स्थानहरूको पहिचान गर्ने कार्य सुरु गरेको छ । आयोजना स्थलमा पुग्न कठिनाइ हुनु नै त्यहाँ खोजी तथा उद्धार कार्यमा ढिलाइ हुनुको एउटा प्रमुख कारण बनेको कम्पनीले जनाएको छ ।
मंगलबार, भदौ २३ गते (८ सेप्टेम्बर) सम्मको अनुमानअनुसार ५१२ जना कामदार अझै बेपत्ता वा सम्पर्कविहीन अवस्थामा रहेका आयोजनाले जानकारी दिएको छ ।
एनडब्लूईडीसी तथा यसका ठेकेदार कम्पनीहरूले जारी खोजी तथा उद्धार कार्यमा सुरक्षा निकाय तथा नेपाली उद्धार टोलीहरूको प्रयासलाई निरन्तर सहयोग गरिरहेका छन् ।
उद्धार कार्यलाई सहज बनाउन कम्पनी तथा ठेकेदारहरूले सुरक्षा निकायलाई आवश्यक सामग्री उपलब्ध गराउँदै आएका छन् । यसका साथै, खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाउन कम्पनीले ठूला उपकरणहरू हवाई माध्यमबाट आयोजना स्थलसम्म पुर्याउने प्रक्रिया सुरु गर्ने जनाएको छ ।