२०८३ असोज ३ शनिबार

चारआली ओभरपासको ५० प्रतिशत निर्माण सम्पन्न, बिर्तामोडको मुक्तिचोकमा एक साताभित्र काम सुरु हुने

ई आर्थिक    आइतबार, असार २१ २०८३
1.4K
Shares
चारआली ओभरपासको ५० प्रतिशत निर्माण सम्पन्न, बिर्तामोडको मुक्तिचोकमा एक साताभित्र काम सुरु हुने

एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापामा तीन स्थानमा ओभरपास निर्माण तीव्र, ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा

काठमाडौं: एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन ओभरपासको करिब ५० प्रतिशत काम सम्पन्न भएको छ। आयोजना कार्यालयका अनुसार बिर्तामोडको मुक्तिचोकमा निर्माण हुने ओभरपासको काम भने आगामी एक साताभित्र सुरु गरिने भएको छ।

एसियाली हाइवे परियोजना (पूर्वी खण्ड) का आयोजना प्रमुख इन्जिनियर सुनीलबाबु पन्तका अनुसार चारआली ओभरपासको मुख्य संरचनागत निर्माण आधाभन्दा बढी सम्पन्न भइसकेको छ भने बाँकी कामलाई तीव्र गतिमा अघि बढाइएको छ। उनले बिर्तामोड नगरपालिका–२ को चारपाने क्षेत्रमा निर्माण भइरहेको अर्को ओभरपासको प्रगति पनि करिब ३५ प्रतिशत पुगेको जानकारी दिए।

चारआली चोकमा निर्माणाधीन ओभरपासको पूर्वतर्फ २५१ मिटर र पश्चिमतर्फ २२६ मिटर लामो र्‍याम्प निर्माण गरिनेछ। ओभरपास सञ्चालनमा आएपछि पूर्व–पश्चिम राजमार्गमा गुड्ने लामो दूरीका सवारीसाधन चोकमा नरोकी माथिल्लो संरचनाबाट आवतजावत गर्नेछन् भने स्थानीय सवारीसाधनले तल्लो सडक प्रयोग गर्ने व्यवस्था हुनेछ।

आयोजनाका अनुसार यसबाट ट्राफिक व्यवस्थापन प्रभावकारी बन्नुका साथै यात्रा समय घट्ने, सवारी जाम कम हुने र दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

यता, बिर्तामोडको मुक्तिचोकमा ओभरपास निर्माण ढिलाइ हुनुको मुख्य कारण विद्युत्का खम्बा स्थानान्तरणमा भएको ढिलाइ रहेको आयोजना प्रमुख पन्तले बताए। अधिकांश खम्बा सार्ने काम सम्पन्न भइसकेकाले अब यही सातादेखि निर्माण कार्य सुरु गर्ने तयारी गरिएको उनले जानकारी दिए।

सरकारले एसियाली विकास बैंक (एडिबी) को सहयोगमा काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म ९५.७६ किलोमिटर पूर्व–पश्चिम राजमार्गलाई चार लेनको एसियाली राजमार्गका रूपमा स्तरोन्नति गरिरहेको छ। सोही परियोजनाअन्तर्गत चारआली, चारपाने, बिर्तामोड, दमकलगायत विभिन्न स्थानमा ओभरपास निर्माण भइरहेको छ।

स्थानीय व्यवसायी शरद शिवाकोटीले चारआली ओभरपास निर्माण सम्पन्न भएपछि बजार क्षेत्रमा दैनिक हुने ट्राफिक जाम हट्ने र व्यापार–व्यवसायमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे। मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले पनि ओभरपासले मेचीनगरको शहरी विकासलाई नयाँ गति दिने र मेची पुलदेखि चारआलीसम्मको बजार क्षेत्रलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

स्थानीय बद्री महतले चारआलीस्थित मेची राजमार्ग र पूर्व–पश्चिम राजमार्गको सङ्गमस्थलमा निर्माण भइरहेको ओभरपासले यातायात सहज बनाउनुका साथै व्यापार, व्यवसाय र समग्र क्षेत्रीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आयोजना निर्धारित समयमै सम्पन्न हुने अपेक्षा गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij