काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार गठन, मन्त्रालय बाँडफाँट र प्रभावकारी कार्यसम्पादनबारे शीर्ष तहमा गहन आन्तरिक छलफल जारी रहेको छ। नयाँ जनादेशसँगै जनताको अपेक्षा पूरा गर्नुपर्ने दबाबबीच पार्टी नेतृत्वले दुरदर्शी निर्णय लिनुपर्नेमा जोड दिएको छ।
पार्टी स्रोतका अनुसार कसलाई कुन मन्त्रालय दिने, जिम्मेवारी अनुसार कसले प्रभावकारी काम गर्न सक्छ भन्ने विषयमा गम्भीर मूल्याङ्कन भइरहेको छ। राम्रो डेलिभरी हुन नसके उत्पन्न हुनसक्ने जनआक्रोशलाई ध्यानमा राख्दै अहिले नै स्पष्ट र सक्षम टिम तयार पार्ने तयारी भइरहेको बताइएको छ।
निर्वाचनपछि सांसदहरूले संसदीय मर्यादा र आन्तरिक क्षमता विकासबारे छलफल गरिसकेका छन्। अहिले भने जनताको अपेक्षा, प्राप्त मतको सम्मान र त्यसअनुसार चाल्नुपर्ने कदमबारे केन्द्रित भएर काम गरिरहेका छन्। साथै जनतासँग निरन्तर संवाद राख्न र उनीहरूको चाहना विभिन्न माध्यमबाट बुझ्न निर्देशन दिइएको छ।
यसैबीच, प्रधानमन्त्रीका रूपमा प्रस्तावित बालेन शाहले यसअघि १६ मन्त्रालयको संरचना प्रस्ताव गरेका थिए। तर पार्टी सभापति रवि लामिछाने ले पार्टीको योजना अनुसार १८ मन्त्रालयसम्म विस्तार गर्नुपर्ने धारणा राखेका छन्।
हाल बालेन शाहले शपथअघि नै मन्त्रिपरिषद्को टुंगो लगाउनुपर्नेमा जोड दिँदै, १६ वा १८ मन्त्रालय जे भए पनि मन्त्रीहरूको नाम चाँडो टुंगो लगाउनुपर्ने बताएका छन्। उनले चरणबद्ध विस्तारभन्दा एकैपटक पूर्ण मन्त्रिपरिषद गठन गरेर काम अघि बढाउनुपर्ने अडान लिएका छन्।
उनको भनाइमा, सरकार गठनका नाममा समय खर्चने अवस्था अब छैन। स्पष्ट टाइमलाइन बनाएर सोहीअनुसार सक्षम व्यक्ति छनोट गरी शपथकै दिनदेखि काम सुरु गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
सभापति रवि लामिछाने ले पनि ढिलाइ गर्ने कुनै ठाउँ नरहेको बताउँदै सबै काम एकै गतिमा अगाडि बढाउनुपर्ने बताएका छन्।
हाल भइरहेको निर्णायक छलफलमा वरिष्ठ नेता बालेन शाह, सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल र स्वर्णीम वाग्ले सहभागी छन्।
रास्वपाले पाँच वर्षे शासनकाललाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन अहिलेको निर्णय प्रक्रियालाई निर्णायक चरणको रूपमा लिएको छ।