काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ बाट नवनिर्वाचित सदस्यहरूको शपथ कार्यक्रम चैत १२ गते आयोजना गर्ने भएको छ।
सचिवालयद्वारा जारी सूचनाअनुसार कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा दिउँसो २:०० बजे सुरु हुनेछ।
नेपालको संविधानको धारा ८८ र ९१(५) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम हुने उक्त शपथ कार्यक्रममा सहभागी हुन निर्वाचित सदस्यहरूलाई निर्धारित समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन अनुरोध गरिएको छ। सदस्यहरूले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नेपाली नागरिकताको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजका दुई प्रति फोटो अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।
सचिवालयले सदस्यहरूलाई औपचारिक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन पनि आग्रह गरेको छ।
त्यस्तै, नेपाली बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले शपथको व्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी कार्यक्रमभन्दा कम्तीमा तीन दिन अगावै सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा वा इमेलमार्फत उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ।
साथै, सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आ–आफ्ना जिल्लाका निर्वाचित सदस्यहरूलाई उक्त जानकारी गराउन पनि अनुरोध गरिएको छ।
शपथ कार्यक्रम प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ बाट निर्वाचित सदस्यहरूको औपचारिक कार्यारम्भको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।