काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च तहमा पुगेको छ । मंगलबार ठूलो वृद्धिपछि बुधबार पनि सुनको मूल्य बढेर नयाँ कीर्तिमान कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ५ हजार ५ सय रुपैयाँले बढेर २ लाख ६७ हजार २ सय रुपैयाँ पुगेको सुन बुधबार थप ९ सय रुपैयाँ बढेर २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो ।
चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । मंगलबार प्रतितोला ४ हजार २ सय ५५ रुपैयाँ रहेको चाँदी बुधबार बढेर ४ हजार ४ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य निरन्तर उकालो लागेसँगै यसको असर नेपाली बजारमा परेको व्यवसायीहरूको भनाइ छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बुधबार विश्व बजारमा एक औँस सुन करिब ४ हजार ५ सय २५ अमेरिकी डलर र चाँदी ७३ डलर हाराहारीमा कारोबार भइरहेको छ ।