काभ्रेपलाञ्चोक । गत भदौको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेपा नगरपालिका भवन पुनर्निर्माणका लागि नगरपालिकाले बजेट खोजिरहेको छ।
करिब १० करोड रुपैयाँ बराबरको क्षति पुगेको प्राविधिक मूल्यांकनपछि नगरपालिकाले पुरानो भवन भत्काएर ८० करोड रुपैयाँ लागतमा आठ तले नयाँ भवन निर्माण गर्ने योजना बनाएको हो।
नगर प्रमुख शान्तिरत्न शाक्यका अनुसार भवनमा दुई तला अन्डरग्राउन्ड पार्किङ रहनेछ।
उनले बागमती प्रदेश सरकारबाट सहयोगका लागि पहल भइरहेको बताए।
हाल अस्थायी रूपमा वडा नं १० को कार्यालयबाट नगर सेवा सञ्चालन भइरहेको छ। आन्दोलनका क्रममा मुख्य प्रशासनिक भवनसहितका कक्ष, अभिलेख, सवारीसाधन र कार्यालय सामग्री पूर्ण रूपमा नष्ट भएका थिए।