ई-आर्थिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन्दरहरैंचा नगरपालिका, मोरङको गछिया खोलामा भएको बालुवा–गिट्टी उत्खनन कार्यमा मूल्य अभिवृद्धि कर (भ्याट) नकटाई राजस्व छली भएको आरोपमा कर अधिकृत र ठेकेदार कम्पनीका प्रतिनिधिमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार, सुन्दरहरैंचा नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा स्वामिनारायण निर्माण सेवा प्रा.लि., धरानसँग रु. ९ करोड ५१ लाख ५१ हजार १५१ रुपैयाँ ५० पैसा (भ्याट बाहेक) को ठेक्का सम्झौता गरेको थियो। तर उक्त रकममा समावेश रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बराबरको भ्याट रकम आन्तरिक राजस्व कार्यालयमा दाखिला नगरी राजस्व छली गरिएको पाइएको आयोगले जनाएको छ।
अनुसन्धानबाट आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आले र स्वामिनारायण निर्माण सेवा प्रा.लि.का प्रबन्ध निर्देशक सन्तोष कुमार बस्नेत बीच मिलेमतो भई झुट्टा कागजात तयार गरी भ्याट बुझाइसकेको भनी नगरपालिकालाई भ्रामक पत्राचार गरिएको तथ्य फेला परेको आयोगको आरोपपत्रमा उल्लेख छ।
आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिमको कसूरमा मुद्दा दायर गरेको छ। सो कार्यबाट नेपाल सरकारलाई हानि पुर्याई गैरकानूनी लाभ लिएको ठहर गर्दै आयोगले रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बराबर बिगो कायम गरी त्यही रकम बराबरको जरिवाना र कैद सजाय मागदाबी गरेको हो।
मुद्दामा कर अधिकृत आलेलाई मुख्य कसूरदार र ठेकेदार कम्पनीका प्रबन्ध निर्देशक बस्नेतलाई मतियारका रूपमा संलग्न रहेको ठहर गर्दै अख्तियारले उनीहरूलाई मुख्य कसूरदार सरह सजाय माग गरेको हो।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, सार्वजनिक सम्पत्ति हिनामिना गर्ने, कर छली गर्ने वा राजस्व चुहावटमा संलग्न जो कोहीविरुद्ध अख्तियारले कडा कानुनी कारबाही अघि बढाउने नीतिअनुरूप यो मुद्दा दायर गरिएको हो।