काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा चाँडै हुन लागेको निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूसँग आज विशेष छलफल गर्न लागेकी छन्। प्रधानमन्त्री कार्कीले सात प्रमुख राजनीतिक दलहरूलाई छलफलमा सहभागी हुन निमन्त्रणा पठाएकी हुन्।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले दिएको जानकारी अनुसार, आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने तय भएको छ। छलफलको मूल विषय आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनसम्बन्धी तयारी र सहकार्य रहने बताइएको छ।
यसका लागि प्रधानमन्त्री कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई औपचारिक पत्र पठाउँदै, प्रत्येक दलबाट दुई जना प्रतिनिधि पठाउन अनुरोध गरेकी छन्। छलफलमा सहभागी हुन निमन्त्रणा प्राप्त दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) र जनमत पार्टी रहेका छन्।
छलफलले निर्वाचनको वातावरण बनाउन र राजनीतिक सहमति जुटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।