धादिङ । रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो गोरखा जिल्लाको आरुघाट बजारस्थित शाखालाई स्थानान्तरण गरी धादिङ जिल्लाको धादिङबेसीमा नयाँ शाखा स्थापना गरेको छ। नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन संस्थाका अध्यक्ष कुश प्रसाद मल्लद्वारा सम्पन्न भएको हो।
रिलायन्स फाइनान्सले नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको वित्तीय कारोबार गर्ने अनुमति पाउँदै २०६६ साल मंसिर १० गतेदेखि औपचारिक रूपमा सेवा सुरु गरेको हो। संस्थाको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–१, कमलादीमा रहेको आफ्नै भवनबाट सञ्चालन हुँदै आएको छ।

हालसम्म संस्थाले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूसँगै चितवन, कास्की, लमजुङ, काभ्रेपलाञ्चोक, झापा, गोरखा, रुपन्देही, कैलाली, कन्चनपुर, बाँके लगायत २२ स्थानमा शाखा विस्तार गरिसकेको छ। धादिङबेसी शाखा सँगै संस्थाको शाखा संजाल थप मजबुत भएको संस्थाले जनाएको छ।
“वित्तीय सेवाको अर्को परिभाषा” भन्ने नाराका साथ अघि बढिरहेको रिलायन्स फाइनान्सले ग्राहकलाई सरल र सहज तरिकाले कर्जा सुविधा प्रदान गर्दै विभिन्न निक्षेप योजनामार्फत आकर्षक ब्याजदरमा बचत संकलन गर्दै आएको छ।
निक्षेप र कर्जासँगै, संस्था विभिन्न डिजिटल बैंकिङ सेवा, रेमिटेन्स सेवा, सी–आस्वा, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यू.आर. कोड भुक्तानी, र अन्य आधुनिक वित्तीय सेवा उपलब्ध गराइरहेको उपप्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी रामहरि आचार्यले जानकारी दिएका छन्।