ई-आर्थिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यवाहक सभापतिमा उपसभापति पूर्णबहादुर खड्कालाई तोकेका छन् ।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सोमबार सम्बोधन गर्दै सभापति देउवाले स्वास्थ्य अवस्थाका कारण सक्रिय रूपमा जिम्मेवारी बहन गर्न कठिन भएको जनाउँदै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय सुनाएका हुन्।
“मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु,” देउवाले बैठकमा भने, “उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ।”
खड्का देउवापछिका वरिष्ठ नेता तथा उपसभापति हुन्।
पार्टी नेतृत्वमा आएको यो आन्तरिक समायोजनलाई आगामी महाधिवेशन र राजनीतिक रणनीतिका सन्दर्भमा महत्वपूर्ण रूपमा हेरिएको छ।