ई-आर्थिक, काठमाडौं । भेपमार्फत गरिएको सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध मुद्दा दायर गरिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। महरालाई आइतबार ललितपुरको खुमलटारबाट पक्राउ गरी सोमबार अदालतमा पेश गरिएको थियो । ।
अभियोगपत्रमा महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो र तीन वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ।
विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको सुनसम्बन्धी अनुसन्धानका लागि महरा पक्राउ परेका हुन्। सीआईबीका अनुसार, महराले चिनियाँ सुन तस्कर दाओजिन वाङसँग सम्पर्क राखेको र त्रिभुवन विमानस्थलमा जफत गरिएका ७३० थान भेप छुटाउन भूमिका खेलेको अनुसन्धानबाट खुलेको छ। यस प्रकरणमा उनका छोरा राहुल महरा यसअघि नै पक्राउ परिसकेका छन्।
महरामाथि यसअघि पनि २०८० चैतमा अनुसन्धान भएको थियो तर त्यतिबेला हाजिर जमानीमा रिहा भएका थिए। पछिल्लो पटक सुन तस्करी जाँचबुझ आयोगले महराविरुद्ध संगठित तस्करीमा संलग्न रहेको निष्कर्षसहित पुनः मुद्दा चलाउन सिफारिस गरेपछि उनलाई फेरि पक्राउ गरिएको हो।
प्रहरीले सरकारी वकिलमार्फत म्याद थपको माग गर्दै अनुसन्धान अघि बढाउने तयारी गरेको छ।
सुन तस्करीमा चिनियाँ नागरिक दाओजिन वाङसँग महराको सम्पर्क रहेको र त्रिभुवन विमानस्थलमा जफत गरिएका ७३० थान विद्युतीय चुरोट (भेप) छुटाउन महरा र उनका छोरा राहुलले भूमिका खेलेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। राहुल यसअघि नै पक्राउ परिसकेका छन्।
यसअघि पनि महरा २०८० सालको चैतमा सोही प्रकरणमा पक्राउ परेका थिए। त्यतिबेला बयानपछि उनी हाजिर जमानीमा रिहा भएका थिए। तर पछिल्लो समय सुन तस्करी जाँचबुझ आयोगले महरालाई संगठित तस्करीमा संलग्न रहेको निष्कर्षसहित पुनः मुद्दा चलाउन सिफारिस गरेपछि उनलाई फेरि पक्राउ गरिएको हो।
मंगलबारदेखि महराविरुद्ध थुनछेक बहस सुरु हुनेछ। सो बहसपछि अदालतले धरौटीमा रिहा गर्ने कि थुनामा राख्ने भन्नेबारे आदेश दिनेछ।
प्रहरीले सरकारी वकिलमार्फत म्याद थपको माग गर्दै थप अनुसन्धान अघि बढाउने तयारी पनि गरेको छ।