२०८३ साउन १२ मंगलबार

नेप्से कर्मचारी आन्दोलन: कालोपट्टीसहित कार्यस्थल, अध्यक्ष र सीईओको प्रवेश निषेध

ई आर्थिक    बिहिबार, असोज ९ २०८२
3K
Shares
नेप्से कर्मचारी आन्दोलन: कालोपट्टीसहित कार्यस्थल, अध्यक्ष र सीईओको प्रवेश निषेध

ई- आर्थिक, काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारीहरु एकसाथ आन्दोलनमा उत्रिएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरू सेवा सुविधा, पारदर्शिता र संस्थागत सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।  सेवा सुविधाको माग राखी आन्दोलनमा उत्रिएका कर्मचारीहरुले दुबै संस्थामा काम ठप्प पारेका छन् ।

उनीहरूले हालै नियुक्त अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुँडामणि चापागाईँको राजीनामा माग गर्दै कार्यालय प्रवेशमा समेत निषेध गरेका छन्।

कालोपट्टी बाँधेर काममा बसेका कर्मचारीहरूले माग पुरा नभएसम्म अध्यक्ष बस्याललाई कार्यालय छिर्न नदिने अडान लिएका छन्। आन्दोलनले तेस्रो दिन पार गर्दा पनि वार्ताको पहल नभएको उनीहरूको गुनासो छ।

आन्दोलनको पहिलो दिन मंगलबार अध्यक्ष र सीईओलाई कर्मचारीहरूले कार्यालयमै रोकेका थिए। उनीहरूलाई राति प्रहरीको सहयोगमा उद्धार गरिएको थियो।

कर्मचारीहरूको आन्दोलन व्यवस्थापन प्रणालीमा सुधार, सेवा सुविधा परिमार्जन र संस्थागत पारदर्शिता सुनिश्चित गर्नतर्फ केन्द्रित रहेको छ। उनीहरूले नेतृत्व तहमा विश्वासको संकट उत्पन्न भएको भन्दै तत्काल सुधारको माग गरेका छन्।

नेप्से प्रशासनले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिन बाँकी नै छ। आन्दोलनको चपेटामा परेका सेवा र कारोबारमा तत्काल असर नपरेको जनाइएको भए पनि दीर्घकालीन रुपमा समाधान नखोजिए समस्या गम्भीर हुनसक्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij