ई-आर्थिक, काठमाडौं । नेपाल सरकार अर्थ मन्त्रालयले भाद्र २३ र २४ गतेको आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत तथा पुनर्स्थापनाका लागि विशेष “भौतिक पूर्वाधार पुनर्निर्माण कोष” स्थापना गरी देश-विदेशका नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली तथा अन्तर्राष्ट्रिय साझेदारहरूलाई आर्थिक सहयोग गर्न हार्दिक आह्वान गरेको छ।
२०७२ सालको मन्त्रिपरिषद् निर्णयबाट जारी गरिएको “भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०७२” अनुसार स्थापना गरिएको यस कोषमा, हालैको आन्दोलनबाट जलेका र तोडफोड भएका संरचनाको पुनर्निर्माण कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्य राखिएको छ।
सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मिति २०८२ भाद्र २३ र २४ गतेको जैन जी आन्दोलनको क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो क्षति भएको छ। सो क्षतिको पुनःस्थापना तथा आर्थिक पुनरुत्थानको लागि यो कोषमा योगदान आवश्यक छ।”
सरकारले प्रदेश तथा स्थानीय तहसँगै निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरू, विकास साझेदार र अन्तर्राष्ट्रिय संस्थाहरुलाई यस राष्ट्र पुनर्निर्माण अभियानमा साथ दिन आह्वान गरेको छ। साथै, यस कोषमा गरिएको आर्थिक योगदान हालको आर्थिक वर्षको करयोग्य आम्दानी गणनाबाट कटौती गर्न मिल्ने समेत स्पष्ट गरिएको छ।
योगदान गर्नुपर्ने बैंक खाताको विवरण
खाताको नाम: भौतिक पूर्वाधार पुनर्निर्माण कोष
बैंकको नाम: राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार, काठमाडौं
खाता नम्बर: 1960100102070004
SWIFT Code: RBBANPKA
योगदानकर्ताहरूले सो रकम सोझै बैंक खातामा वा क्यूआर कोडमार्फत पनि जम्मा गर्न सक्नेछन्।
अर्थ मन्त्रालयका सचिव तथा प्रवक्ता टंकप्रसाद पाण्डेयद्वारा जारी गरिएको यो विज्ञप्तिमा “राष्ट्र पुनर्निर्माणको महान कार्यमा सबैको ऐक्यबद्धता र सक्रिय सहभागिता अत्यावश्यक” भएको उल्लेख गरिएको छ।
