रुपन्देही र पाल्पाका स्थानीय बासिन्दाहरुलाई १,६३,१२५ कित्ता शेयर वितरण
ई-आर्थिक, काठमाडौं । श्री नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको श्री श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको साधारण शेयर बाँडफाँट सम्पन्न भएको छ। उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि रु. १०० अंकित दरमा जारी गरिएको १,६३,१२५ कित्ता साधारण शेयर आज मिति २०८२ असोज ९ गते बाँडफाँट गरिएको हो।
शेयर निष्काशन मिति २०८२ भदौ ११ गतेदेखि २५ गतेसम्मका लागि खुला गरिएको भए पनि भदौ २३ गते स्थानीय प्रशासनले निषेधाज्ञा तथा कफ्र्यु जारी गरेकाले आवेदन संकलन केन्द्रहरू बन्द हुन पुगेका थिए। त्यस कारण, भदौ ३० र ३१ गते थप दुई दिनको अवधि दिइएको थियो।
बाँडफाँटका लागि कुल ३,७८६ आवेदकबाट आवेदन प्राप्त भएकोमा ९ जना आवेदकले विदेशमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर समूहमा समेत आवेदन दिएको पाइएकाले ती १,३३० कित्ता शेयरसमेत रद्द गरी बाँकी ३,७७७ जना योग्य आवेदकका ४,८८,४६० कित्ता शेयर आवेदनमाथि बाँडफाँट गरिएको हो।
धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ को दफा ३० अनुसार, पहिलो चरणमा १० देखि ४० कित्ता माग गर्ने ९३२ जना आवेदकलाई मागअनुसार २०,९९० कित्ता र ५० देखि ५,००० कित्तासम्म माग गर्ने २,८४५ जना आवेदकलाई ४० कित्ता दरले १,१३,८०० कित्ता शेयर बाँडफाँट गरिएको छ।
दोस्रो चरणमा ५० देखि ५,००० कित्ता माग गर्ने सोही २,८४५ जनामध्ये २,८३८ जना गोला प्रणाली (लक्की ड्र) बाट चयन गरिएका थिए। तीमध्ये २,८३३ जनालाई थप १० कित्ता दरले २८,३३० कित्ता र अन्तिम ५ जनालाई ५ कित्ता दरले ५ कित्ता बाँडफाँट गरिएको हो। यसरी बाँडफाँट गर्दा बन्द बाकसबाट बल झिक्ने कार्य श्री डिक बहादुर बिष्टज्यूले सम्पन्न गर्नुभएको थियो।
कार्यक्रमको समापनमा आयोजकले उपस्थित सम्पूर्ण लगानीकर्ता, सरोकारवालाहरू र नियमनकारी निकायलाई सहयोगका लागि धन्यवाद व्यक्त गरेको थियो।