२०८३ भाद्र ३१ बुधबार

आगजनी र तोडफोडबीच पनि हिम्मत नहारौँ, पुनर्निर्माणमा लागौँ : अध्यक्ष ढकाल

ई आर्थिक    आइतबार, भाद्र २९ २०८२
2.6K
Shares
आगजनी र तोडफोडबीच पनि हिम्मत नहारौँ, पुनर्निर्माणमा लागौँ : अध्यक्ष ढकाल

ई-आर्थिक, काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हालै देशभर भएको प्रदर्शनका क्रममा निजी उद्योग तथा सम्पत्तिमा भएको तोडफोड र आगजनीप्रति गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण उद्यमी, व्यवसायीहरुलाई आत्मबल नगुमाई पुनर्निर्माणमा जुट्न आग्रह गरेका छन्।

नेपालमा भदौ २३ र २४ गते ‘जेन–जेड’ पुस्ताले गरेको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा व्यापक घुसपैठ भई देशभरका निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको थियो। अध्यक्ष ढकालका अनुसार, सो क्रममा अर्बौंको लगानीमा निर्माण भएका थुप्रै उद्योग र पूर्वाधारमा आगजनी, तोडफोड र क्षति भएको छ। यसले हजारौं नेपालीको रोजगारीसमेत संकटमा पारेको उनले बताए।

ढकालले भने, “मुलुक बनाउने सपना बोकी शून्यबाट सुरु गरेको व्यवसायमा आज म सबैभन्दा गम्भीर जिम्मेवारीमा छु। तर, मेरो आफ्नै व्यवसायमै क्षति हुँदा पनि म रोइबसेको छैन, बरु सम्पूर्ण निजी क्षेत्रको हौसलाका लागि म अघि उभिएको छु।”

अध्यक्ष ढकालले विगतमा भूकम्प, नाकाबन्दी र कोरोना महामारी जस्ता ठूला संकटहरूमा समेत उद्योगी–व्यवसायीलाई धैर्य नहार्न र अघि बढ्न प्रेरित गरेको स्मरण गर्दै यो विषम घडीमा पनि उस्तै हिम्मत र सामूहिक प्रयासको आवश्यकता रहेको बताए।

“आगोले इँटा र काठ जलाए पनि हाम्रो आत्मबल र साहस जल्दैन। हामी फेरि उठ्न सक्छौँ, निर्माण गर्न सक्छौँ,” उनले भने।

ढकालले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै, यस्ता घटनाले वैदेशिक लगानीकर्तामा गलत सन्देश जाने खतरा रहेको उल्लेख गरे। साथै, उनले आफ्ना कर्मचारीहरुलाई क्षतिग्रस्त परियोजनाका फोटो र भिडियोहरु सामाजिक सञ्जालमा नहाल्न आग्रह गरे पनि ती दृश्य सार्वजनिक भएपछि व्यवसायीहरुको मनोबल खस्किन नदिन आफूले खुलेर धारणा राख्नुपर्ने देखिएको बताए।

उनले भने, “हामी उद्यमी व्यवसायीहरु आजैदेखि क्षतिग्रस्त उद्योग–व्यवसायको पुनर्निर्माणमा होमिनुपर्छ। थप लगानी गरेर रोजगारी सिर्जनामा लाग्नुपर्छ। चुनौतीलाई अवसरमा बदल्न सक्ने क्षमतामा हामी सक्षम छौँ।”

ढकालले निजी क्षेत्रलाई मुलुकको अर्थतन्त्रको इन्जिन भनेका छन्। उनका अनुसार नेपालका ८१ प्रतिशतभन्दा बढी अर्थतन्त्र र ८६ प्रतिशतभन्दा बढी रोजगारी निजी क्षेत्रमार्फत सिर्जना भएको छ। उनले भने, “निजी क्षेत्रसँग होस्टेमा हैसे नगरी हामीले समृद्ध नेपाल बनाउन सक्दैनौँ।”

अन्त्यमा उनले सम्पूर्ण उद्यमी–व्यवसायीलाई अपिल गर्दै भने, “हामी थाक्न मिल्दैन, हार मान्न मिल्दैन। भोलि सुनौलो विहानी आउँछ भन्ने विश्वासका साथ अघि बढ्नुपर्छ। हाम्रो साहस र आत्मबलले भावी पुस्तालाई पनि प्रेरणा दिनेछ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij