२०८३ भाद्र २४ बुधबार

पोखरा उद्योग वाणिज्य संघमा पहिलोपटक महिला अध्यक्ष, शोभा गौतम निर्वाचित

ई आर्थिक    मंगलबार, भाद्र २३ २०८३
836
Shares
पोखरा उद्योग वाणिज्य संघमा पहिलोपटक महिला अध्यक्ष, शोभा गौतम निर्वाचित

पोखरा — पोखरा उद्योग वाणिज्य संघले आफ्नो ७२ वर्षे इतिहासमा पहिलोपटक महिला अध्यक्ष पाएको छ। संघको सोमबार साँझ सम्पन्न ३६औँ महाधिवेशनबाट निवर्तमान महासचिव शोभा गौतम अध्यक्षमा निर्वाचित भएकी हुन्।

अध्यक्ष पदका लागि भएको निर्वाचनमा गौतमले तीन पुरुष प्रतिस्पर्धीलाई पछि पार्दै जित हात पारेकी हुन्। कुल २ हजार २ सय ७९ मत खसेकोमा गौतमले ७ सय ५१ मत प्राप्त गरिन्। उनका प्रतिस्पर्धी अर्जुन पोखरेलले ६ सय ३७, उत्तममान बुद्धाचार्यले ६ सय १ र बलराम आचार्यले २ सय ५३ मत प्राप्त गरे। अध्यक्ष पदमा १२ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

वरिष्ठ उपाध्यक्षमा बास्तोला

संघको वरिष्ठ उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष दीनेशचन्द्र बास्तोला निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी टिकाराम सुवेदीलाई ७ सय २१ मतको फराकिलो अन्तरले पराजित गरे। बास्तोलाले १ हजार ४ सय ८१ मत प्राप्त गर्दा सुवेदीले ७ सय ६० मत पाए।

उद्योग उपाध्यक्षमा सौगात थापा

उपाध्यक्ष (उद्योग) पदमा सौगात थापा निर्वाचित भएका छन्। उनले ललितबहादुर कुँवरलाई २ सय ९८ मतको अन्तरले पराजित गरे। थापाले १ हजार २ सय ७१ मत प्राप्त गर्दा कुँवरले ९ सय ७३ मत पाए।

वाणिज्य उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ

उपाध्यक्ष (वाणिज्य) पदमा मनोजकुमार श्रेष्ठ निर्वाचित भएका छन्। उनले भीम गौतमलाई १ सय ४६ मतको अन्तरले पराजित गरे। श्रेष्ठले १ हजार ६५ मत प्राप्त गर्दा गौतमले ९ सय १९ मत पाए।

महासचिवमा सुदीप प्रधानाङ्ग

संघको महासचिवमा सुदीप प्रधानाङ्ग निर्वाचित भएका छन्। उनले तारानाथ ढुंगानालाई १ सय ६० मतको अन्तरले पराजित गरेका हुन्। प्रधानाङ्गले १ हजार २ सय २ मत प्राप्त गर्दा ढुंगानाले १ हजार ४२ मत पाए।

कोषाध्यक्षमा देवेन्द्र प्रजु

कोषाध्यक्ष पदमा देवेन्द्र प्रजु निर्वाचित भएका छन्। उनले जीवनप्रकाश श्रेष्ठलाई ६ सय ६४ मतको फराकिलो अन्तरले पराजित गरे। प्रजुले १ हजार ४ सय ३९ मत प्राप्त गर्दा श्रेष्ठले ७ सय ७५ मत पाए।

उपमहासचिवमा प्रदीप राजभण्डारी

उपमहासचिवमा प्रदीप राजभण्डारी निर्वाचित भएका छन्। उनले अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै जित हात पारे। राजभण्डारीले १ हजार १ सय ५३ मत प्राप्त गर्दा यादवप्रसाद पोखरेलले ६ सय ५८ र रामचन्द्र तिमिल्सिनाले ४ सय ३३ मत पाए।

खुला १० सदस्यमा को-को निर्वाचित ?

खुलातर्फका १० सदस्यमा दुर्गा बराल, अमृत पोखरेल, निर्मला चापागाईं, गोविन्दबहादुर केसी, रामेश्वर अधिकारी, मनोहरी पौडेल, भानुभक्त अधिकारी, दीलिपकुमार श्रेष्ठ, रामप्रसाद कँडेल र कमलबहादुर सुनार निर्वाचित भएका छन्।

निर्वाचित उम्मेदवारमध्ये दुर्गा बरालले सर्वाधिक १ हजार ७ सय ४८ मत प्राप्त गरे। अमृत पोखरेलले १ हजार ७ सय ३१, निर्मला चापागाईंले १ हजार ५ सय ८०, गोविन्दबहादुर केसीले १ हजार ४ सय ८७, रामेश्वर अधिकारीले १ हजार ४ सय ७७ र मनोहरी पौडेलले १ हजार ४ सय ७६ मत प्राप्त गरे।

त्यस्तै, भानुभक्त अधिकारीले १ हजार ४ सय ५२, दीलिपकुमार श्रेष्ठले १ हजार ४ सय ४७, रामप्रसाद कँडेलले १ हजार ४ सय ३५ र कमलबहादुर सुनारले १ हजार ४ सय २४ मत प्राप्त गर्दै निर्वाचित भए।

खुला सदस्यतर्फ १३ जनाबीच प्रतिस्पर्धा भएको थियो। नवीन नापित र हरिप्रसाद अधिकारीले समान १ हजार ३ सय ४३ तथा सूर्यराज घिमिरेले १ हजार ३ सय ३ मत प्राप्त गर्दै पराजित भए।

यसअघि वस्तुगततर्फका चार सदस्यमा केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल तथा उद्योग सदस्यमा पिताम्बर अधिकारी निर्विरोध निर्वाचित भइसकेका थिए।

गौतमको निर्वाचनसँगै पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा पहिलोपटक महिला पुगेकी छन्। उनको नेतृत्वलाई संघको सात दशकभन्दा लामो इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij