२०८३ भाद्र २६ शुक्रबार

प्रधानमन्त्री शाहको जोड : स्वदेशी लगानीलाई पहिलो प्राथमिकता, निजी क्षेत्रसँग त्रैमासिक छलफल

ई आर्थिक    शुक्रबार, भाद्र २६ २०८३
95
Shares
प्रधानमन्त्री शाहको जोड : स्वदेशी लगानीलाई पहिलो प्राथमिकता, निजी क्षेत्रसँग त्रैमासिक छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने बताएका छन्।

शुक्रबार सिंहदरबारमा उद्योगी तथा व्यवसायीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले लगानी विस्तार तथा व्यवसाय सञ्चालनका लागि सहज र अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए।

छलफलका क्रममा प्रधानमन्त्री शाहले उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, चुनौती तथा अवरोधबारे व्यवसायीहरूबाट प्रत्यक्ष जानकारी लिएका थिए। सहभागी रास्वपा सांसद विदुषी राणाका अनुसार व्यवसायीहरूले नीतिगत तथा कानुनी सुधारमार्फत निजी क्षेत्रलाई थप प्रोत्साहन गर्न सरकारसँग आग्रह गरेका थिए।

राणाका अनुसार प्रधानमन्त्री शाहले नेपालमा लगानीको प्राथमिकतामा स्वदेशी व्यवसायीलाई पहिलो, गैरआवासीय नेपाली (एनआरएन) लाई दोस्रो र विदेशी लगानीलाई तेस्रो प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।

व्यवसायीहरूले नेपाली निजी क्षेत्र ठूला पूर्वाधार आयोजना निर्माण गर्न सक्षम रहेको भन्दै त्यसका लागि आवश्यक कानुनी तथा नीतिगत सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै व्यवसायीहरूले लगानीकर्ताको मनोबल बढाउने वातावरण निर्माणमा राज्यले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए। आरोप लाग्नेबित्तिकै व्यवसायीलाई पक्राउ तथा थुनामा राख्ने प्रवृत्तिले निजी क्षेत्रको आत्मविश्वास कमजोर बनाएको उनीहरूको गुनासो थियो।

छलफलमा निजी क्षेत्रका समस्या, लगानीको वातावरण तथा आवश्यक कानुनी संशोधनका विषयमा प्रधानमन्त्री कार्यालयले प्रत्येक तीन महिनामा व्यवसायीसँग नियमित छलफल गर्ने समझदारीसमेत भएको छ।

छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढकाललगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij