काठमाडौं । उद्योगमन्त्री गौरी यादवले ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न होटल व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ।
बाढीका कारण पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्लामा ग्यास आपूर्ति असहज बनेपछि उद्योग मन्त्रालयमा होटल व्यवसायीसँग छलफल गर्दै मन्त्री यादवले उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभएको हो।
कृष्णभीरमा गएको बाढीका कारण सडक अवरुद्ध हुँदा ग्यास आयात तथा ढुवानी प्रभावित भएको भन्दै उहाँले आवश्यक परे होटल व्यवसायीलाई आफैं ग्यास आयात गर्नसमेत आग्रह गर्नुभयो। त्यसका लागि सुरक्षालगायत आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको उहाँले बताउनुभयो।
मन्त्री यादवले होटल तथा व्यावसायिक प्रयोजन र घरायसी प्रयोजनका लागि छुट्टाछुट्टै ग्यास सिलिन्डरको व्यवस्था गर्न मन्त्रालय र नेपाल आयल निगमले काम अघि बढाइसकेको जानकारी दिनुभयो। होटलमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने ग्यास सिलिन्डरको तौल बढाउने प्रस्तावसमेत उहाँले अघि सार्नुभयो।
होटल व्यवसाय बन्द गराउने सरकारको कुनै सोच नरहेको स्पष्ट पार्दै मन्त्री यादवले देशको अर्थतन्त्र र पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। अहिलेको अवस्थामा भने ग्यास आपूर्ति सहज बनाउन सबै पक्षले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो।
छलफलमा नेपाल आयल निगमका महाप्रबन्धक नागेन्द्र शाहले ग्यास आयात तथा ढुवानी सहज बनाउन होटल व्यवसायीले समेत आवश्यक सवारीसाधनको व्यवस्था गरी ढुवानीमा सहयोग गर्न आग्रह गर्नुभयो।
पछिल्लो अवस्थाका कारण कतिपय उपभोक्ता लामो समयसम्म ग्यास नपाएर समस्यामा परेको जानकारी आएको बताउँदै शाहले यस्तो अवस्था दोहोरिन नदिन होटल व्यवसायीलाई पनि सहजीकरण गर्न आग्रह गर्नुभयो। होटल प्रयोजनमा प्रयोग हुने ग्यास सिलिन्डरको तौल बढाउने विषयमा थप छलफल आवश्यक रहेको उहाँले बताउनुभयो।
भारतबाट आयात हुने ग्यासमा मात्रै निर्भर रहनुपर्ने अवस्था अन्त्य गर्न नेपालमा विद्युत् ऊर्जाको प्रयोग बढाउनुपर्नेमा समेत शाहले जोड दिनुभयो। होटल व्यवसायमा ग्यासको विकल्पका रूपमा विद्युतीय चुलोको प्रयोग बढाउन उहाँले आग्रह गर्नुभयो।
छलफलमा होटल संघ नेपालका केन्द्रीय अध्यक्ष विनायक शाहले बढी रकम तिरेपछि मात्रै ग्यास पाउने अवस्था रहेको भन्दै ग्यासमा कालोबजारी भइरहेको गुनासो गर्नुभयो।
होटल व्यवसायीहरू ग्यासको विकल्पका रूपमा विद्युतीय चुलोतर्फ जान तयार रहेको बताउँदै अध्यक्ष शाहले होटललाई पनि उद्योगसरह सहुलियत दरमा विद्युत् उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो। होटल व्यवसायलाई उद्योगको रूपमा नहेरी महँगो विद्युत् महसुलमा राखिँदा समस्या भइरहेको उहाँको भनाइ थियो।
होटल प्रयोजनका लागि ग्यास सिलिन्डर १९ केजी बनाउने विषयमा व्यवस्थापन पक्षलाई व्यवस्थित बनाएर अघि बढे आफूहरूको साथ रहने अध्यक्ष शाहले बताउनुभयो।
सरकारले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै ग्यास सिलिन्डरको व्यवस्था गर्न थालेको भन्दै मन्त्री यादवले ग्यास आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाउनुभयो।