२०८३ साउन ९ शनिबार

बडिमालिका धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अद्वितीय संगम

ई आर्थिक    बिहिबार, साउन २९ २०८२
3.9K
Shares
बडिमालिका धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अद्वितीय संगम

ई-आर्थिक, बाजुरा ।  सुदूरपश्चिमको पवित्र धार्मिक स्थल बडिमालिका पछिल्ला वर्षहरूमा पर्यटक तथा श्रद्धालुहरूको रोजाइको गन्तव्य बन्दै गएको छ। हराभरा पाटन, अपूर्व हिमश्रृंखला, दुर्लभ वन्यजन्तु र पौराणिक किंवदन्तीले भरिएको यस क्षेत्रले आध्यात्मिक र पर्यटकीय दुवै पक्षलाई सन्तुष्टि दिने वातावरण बनाएको छ।

धार्मिक मान्यता अनुसार, सतीदेवीको बाँया हातको कुम पतन भएर उत्पत्ति भएको विश्वास गरिने बडिमालिकामा भगवान शिवले लामो समय वास गरेका थिए। यहाँको पूजा-आराधनामा संलग्न बडिमालिका मन्दिरका पुजारी भानुभक्त पाध्यायका अनुसार, यथार्थमा यो क्षेत्र शक्तिपीठको रूपमा स्थापित रहँदै आएको छ।

समुद्री सतहबाट ४,२१९ मिटर उचाइमा रहेको बडिमालिकामा रहेको त्रिवेणी क्षेत्र, २२ पाटन, धर्मद्वार, विष्णुपानी लगायत स्थानहरू धार्मिक र प्राकृतिक आकर्षणका मुख्य केन्द्र हुन्। विशेषगरी, यहाँको हरियाली पाटन, रंगीचंगी फूल, डाँफे, मुनाल, कस्तुरीजस्ता दुर्लभ प्रजातिका वन्यजन्तु तथा चराचुरुंगीले पर्यटकलाई लोभ्याउने गर्छन्। सफा मौसममा अपी र सैपाल हिमश्रृंखला समेत स्पष्ट देखिन्छ।

यस क्षेत्रसम्म पुग्न अझै सवारीसाधनले सहज पहुँच नपुगे पनि घोडेटो बाटो हुँदै हिँड्ने तीर्थालु र पर्यटकले यात्रा कठिन भए पनि गन्तव्य पुग्दाको अनुभव असाधारण हुने अनुभव साझा गरेका छन्। यद्यपि, सुरक्षित पैदल मार्ग अभाव, शौचालय, खानेपानी, धर्मशाला र विश्रामस्थलको न्यूनता यात्रुहरूका लागि चुनौती बनेको छ।

अहिलेसम्म पदमार्ग निर्माणको केही काम भए तापनि भौगोलिक विकटता र मौसमका कारण प्रगति सुस्त भएको बताउँदै प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन विकास कार्यक्रम इकाइका निमित्त प्रमुख डबलबहादुर बोहराले आगामी वर्षदेखि एसियाली विकास बैंकको सहायतामा थप पूर्वाधार विस्तार गरिने जानकारी दिए।

उनका अनुसार चालु आर्थिक वर्षमा अतिथि गृह र शौचालयसहितको विश्रामगृह निर्माणको योजना अघि सारिएको छ। उच्च उचाइमा रहेको क्षेत्र भएकाले अक्सिजनको कमीले ‘लेक’ लाग्ने समस्या भोग्नुपरेको पनि उनले बताए।

बडिमालिका पुग्न कठिन भए पनि यहाँको आध्यात्मिक शान्ति, प्राकृतिक सौन्दर्यता र सांस्कृतिक विविधताले यो गन्तव्यलाई ‘भूस्वर्ग’ सावित गरिरहेको स्थानीय तथा पर्यटकहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij