ई-आर्थिक, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिएको छ।
मुख्यमन्त्री लामाले आफ्ना सचिवालय सदस्य छत्र लामामार्फत राजीनामा पत्र प्रदेश प्रमुखको प्रमुख स्वकीय सचिव बलराम गैरेलाई बुझाएका हुन्।
प्रदेश प्रमुख दिपक देवकोटा स्वास्थ्य उपचारपछि सोमबार हेटौँडा फर्किएका छन् ।
मुख्यमन्त्री लामाको राजीनामा पत्र प्राप्त भएसँगै अब नयाँ मुख्यमन्त्री चयन प्रक्रिया औपचारिक रूपमा सुरु हुने भएको छ।
हिजो बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । आइतबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा राजीनामा दिने निर्णय गरेको बताएका थिए ।
उनी विरुद्ध गत साउन ९ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो । गत साउन १३ गते उनी बागमती प्रदेश संसदीय दलको नेताबाट पदमुक्त भएका थिए । ३७ सदस्यीय संसदीय दलमा गरिएको मत विभाजनमा लामा पक्षमा १५ मत मात्र परेको थियो भने २२ जना सांसदले उनको विपक्षमा मतदान गरेका थिए।