२०८३ साउन ९ शनिबार

घुरेनी-कोत्रवाङ-सिम सिँचाइ आयोजनाको नहर १५ वर्षपछि पुनर्निर्माण, ९० लाख लागत

ई आर्थिक    बुधबार, असार २५ २०८२
2K
Shares
घुरेनी-कोत्रवाङ-सिम सिँचाइ आयोजनाको नहर १५ वर्षपछि पुनर्निर्माण, ९० लाख लागत

ई-आर्थिक, म्याग्दी।  सडक निर्माणका क्रममा क्षति पुगेको म्याग्दीको मंगला गाउँपालिका-२ स्थित घुरेनी-कोत्रवाङ-सिम सिँचाइ आयोजनाको नहर १५ वर्षपछि पुनर्निर्माण भएको छ।

सल्यानको फेदीमा रहेको घुरेनीको मुहानबाट कोत्रवाङ र सिमको फाँटमा पानी ल्याउने नहर विसं २०६७ मा सिम-कुहुँ सडक निर्माणका क्रममा पुरिएको थियो। घुरेनी-कोत्रवाङ-सिम सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष हेमबहादुर खत्रीले खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा १५ वर्षपछि नहर पुनर्निर्माण गरिएको बताए।

‘नहर पुरिएपछि पाइपबाट पानी ल्याएर खेतीबाली लगाउन र सिँचाइ गर्न साह्रै समस्या भएको थियो’, उनले भने, ‘यसपालि नहर पुनर्निर्माण भएपछि समयमा रोपाइँ गर्नुका साथै हिउँदेबालीमा सिँचाइ गर्ने सहज भएको छ।’ पाइपमा पर्याप्त पानी नआउने र कच्ची नहरमा पानी सोसिने अर्को समस्या पनि थियो।

आयोजनाबाट १५ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुगेको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका प्रमुख डिभिजनल इन्जिनियर झलकमोहन ओझाले बताए। एक हजार ७ सय मिटर पक्की नहर निर्माण भएको बताउँदै उनले मुख्य नहरका शाखा नहरहरू पनि निर्माण भएका उल्लेख गरे।

एक करोड ३३ लाख रूपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माणका लागि विसं २०८१ जेठ २५ गते शान्ति निर्माण सेवाले ९० लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। एक वर्षको ठेक्का अवधि भएको योजना निर्धारित समयभित्रनै सम्पन्न भएको हो ।

गत आर्थिक वर्ष २०८०/८१ मा १० लाख रूपैयाँ बजेट विनियोजन भएको योजनाका लागि एक करोड ३३ लाख रूपैयाँ बराबरको स्रोत सुनिश्चितता गराएर बहुवर्षीय ठेक्का लगाइएको डिभिजनल इन्जिनियर ओझाले बताए।

कोत्रवाङ र सिमको बीचमा बाँकी रहेको सिँचाइ योजनाको संरचना निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट आगामी आवका लागि पाँच लाख रूपैयाँ विनियोजन भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij