२०८३ मंसिर १३ शनिबार

हेटौँडा कपडा उद्योगका पुराना मेसिन आधुनिक प्रविधिबाट सुधार गर्ने मन्त्री पुनको प्रस्ताव

ई आर्थिक    शनिबार, मंसिर १३ २०८३
475
Shares
हेटौँडा कपडा उद्योगका पुराना मेसिन आधुनिक प्रविधिबाट सुधार गर्ने मन्त्री पुनको प्रस्ताव

हेटौँडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरेर पुनः सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन गरिने बताएका छन्।

शनिबार हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रमा रहेको कपडा उद्योगको अवलोकन गर्दै मन्त्री पुनले उद्योगका मेसिनको अवस्था, प्राविधिक समस्या र पुनः सञ्चालनका चुनौतीबारे जानकारी लिएका हुन्।

अवलोकनका क्रममा मन्त्री पुनले उद्योगमा प्रयोग भइरहेका मेसिन निर्माण गर्ने चिनियाँ कम्पनी नै बन्द भइसकेकाले आवश्यक पार्टपुर्जा उपलब्ध गराउन कठिनाइ रहेको बताए। यद्यपि, पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन र सुधार गर्न सके उत्पादन पुनः सुरु गर्न सकिने सम्भावना रहेको उनको भनाइ थियो।

सरकारको स्वामित्वमा रहेका पुराना उद्योगलाई अनुसन्धान, नवप्रवर्तन र प्रविधिको प्रयोगमार्फत पुनर्जीवित गर्न सकिने सम्भावना पहिचान गर्न आफू उद्योगको अवस्था बुझ्न आएको मन्त्री पुनले बताए। त्यसका लागि छुट्टै अनुसन्धान तथा नवप्रवर्तन इकाइ स्थापना गर्नुपर्ने उनको धारणा छ।

मन्त्री पुनले वीरगञ्जस्थित कृषि औजार कारखानामा करिब चार बिघा क्षेत्रफलमा अनुसन्धान केन्द्र स्थापना गर्ने प्रस्तावसमेत अघि सारेका छन्। उक्त केन्द्र स्थापना गर्न रु ७० देखि ८० करोडसम्म लगानी आवश्यक पर्ने उनको अनुमान छ। अनुसन्धान तथा प्रविधि विकासका काममा नेपाली सेनासँग सहकार्य गर्न सकिने उनले बताए।

अवलोकनका क्रममा सैनिक सामग्री उत्पादन निर्देशनालयका निर्देशक प्राविधिक सहायक रथी मुकेश बाटाजुले मन्त्री पुनलाई उद्योगको वर्तमान अवस्था, मेसिनको उपलब्धता तथा मर्मतसम्भारका कामबारे जानकारी गराएका थिए।

विसं २०५७ देखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारी निर्णयअनुसार अहिले उद्योगमा परीक्षण उत्पादन भइरहेको छ। उद्योगमा रहेका ४८८ मेसिनमध्ये नेपाली सेनाले मर्मत तथा सरसफाइ गरेपछि २० वटा लुमबाट कपडा बुन्ने परीक्षण सुरु गरिएको हो। बाँकी मेसिन मर्मतको क्रममा छन्।

सरकारले गत असार १८ गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि सरसफाइ, विद्युत् प्रणाली सुधार तथा मेसिन मर्मतका काम अघि बढाएको थियो। परीक्षण उत्पादनका लागि सरकारले रु ३३ लाख बजेट उपलब्ध गराएको छ।

हाल बाहिरबाट धागो ल्याएर उद्योगका पुराना मेसिनमार्फत कपडा बुन्ने परीक्षण भइरहेको छ। आधुनिक प्रविधिको प्रयोगबाट पुराना मेसिनलाई सुधार गर्दै उद्योगको उत्पादन क्षमता विस्तार गर्न सकिने सम्भावनाबारे पनि अध्ययन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij