काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको एनटी फाइबर सेवाप्रति सेवाग्राहीको आकर्षण र माग निरन्तर बढेपछि कम्पनीले सेवा विस्तार तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी गरेको छ।
कम्पनीले फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा आधारित एनटी फाइबरमार्फत उच्च गतिको इन्टरनेट र टेलिफोन सेवा एउटै माध्यमबाट उपलब्ध गराउँदै आएको छ। पछिल्लो समय यस सेवाप्रति सेवाग्राहीको विश्वास र माग बढ्दै गएको नेपाल टेलिकमले जनाएको छ।
बढ्दो मागलाई सम्बोधन गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अघि बढाइएको कम्पनीले जनाएको छ। मागको चाप बढी भएका कार्यालयहरूमा व्यवस्थापकीय सुदृढीकरणको कामलाई प्राथमिकताका साथ अघि बढाइएको प्रवक्ता डा. कमल लामिछानेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, सेवाग्राहीको मागअनुसार फाइबर जडान कार्यलाई निरन्तरता दिँदै आपूर्ति शृङ्खला अवरुद्ध हुन नदिन कम्पनी प्रयासरत रहेको जनाएको छ। सरकारी स्वामित्वको कम्पनी भएकाले आवश्यक विधिवत् प्रक्रिया पूरा गरेर सेवा प्रवाहलाई निरन्तरता दिने काम भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ।
नेपाल टेलिकमले एनटी फाइबर सेवाप्रति सेवाग्राहीले देखाएको विश्वास र चासोले सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि थप प्रेरणा मिलेको जनाएको छ।
कम्पनीले सेवाग्राहीको मागअनुसार सेवा जडान गर्दै जाने र गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै सेवा विस्तारको क्रममा देखाइएको साथ, सहयोग र धैर्यताका लागि ग्राहकप्रति आभारसमेत प्रकट गरेको छ।