काठमाडौं । नेपालमा उद्योग स्थापना गर्ने क्रम बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा १९५ वटा नयाँ उद्योग दर्ता भएका छन्। ती उद्योगमा कुल एक खर्ब चार अर्ब २६ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको छ।
उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म दर्ता भएका उद्योग सञ्चालनमा आएमा १० हजार २२० जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ। दर्ता भएका उद्योगमध्ये १४ वटा ठूला, २२ वटा मझौला र १५९ वटा साना छन्।
यस अवधिमा लगानीकर्ताको सबैभन्दा बढी आकर्षण ऊर्जा क्षेत्रमा देखिएको छ। ऊर्जा क्षेत्रमा आधारित तीनवटा उद्योगमा ७१ अर्ब ३३ करोड ३५ लाख रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता आएको छ। यो कुल प्रतिबद्ध लगानीको सबैभन्दा ठूलो हिस्सा हो।
त्यसैगरी उत्पादनमूलक क्षेत्रमा ३७ वटा उद्योग दर्ता भएका छन्। ती उद्योगमा २० अर्ब सात करोड १० लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको छ। पर्यटन क्षेत्रमा ४० वटा उद्योग दर्ता हुँदा पाँच अर्ब ६३ करोड ८५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।
सेवामूलक क्षेत्रमा २३ वटा उद्योग दर्ता भएका छन्। ती उद्योगमा तीन अर्ब २५ करोड रुपैयाँ लगानी प्रस्ताव गरिएको विभागले जनाएको छ।
उद्योग दर्ताको सङ्ख्यामा भने सूचना प्रविधि क्षेत्र अगाडि देखिएको छ। यस क्षेत्रमा ८६ वटा उद्योग दर्ता भएका छन्। ती उद्योगमा एक अर्ब ५८ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।
कृषि तथा वन पैदावारमा आधारित तीनवटा उद्योगमा एक अर्ब १२ करोड रुपैयाँ र पूर्वाधारमा आधारित दुईवटा उद्योगमा एक अर्ब आठ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव आएको छ।
खनिजमा आधारित एउटा उद्योगमा १६ करोड ४१ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कमा उल्लेख छ।
पहिलो त्रैमासमा आएको लगानी प्रतिबद्धताले ऊर्जा, उत्पादन र पर्यटन क्षेत्रमा लगानीकर्ताको चासो देखाएको छ। सूचना प्रविधिमा आधारित उद्योगको सङ्ख्या बढी हुनुले यस क्षेत्रमा उद्यमशीलताको विस्तार भइरहेको सङ्केत गर्छ। तर, लगानी प्रतिबद्धतालाई वास्तविक लगानीमा रूपान्तरण गर्दै प्रस्तावित रोजगारी सिर्जना गर्नु चुनौतीपूर्ण रहनेछ।