काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको आइतबारदेखि सुरु हुने भारतको राजकीय भ्रमणमा निजी क्षेत्रबाट ५२ जना उद्योगी व्यवसायी सहभागी हुने भएका छन्। प्रधानमन्त्रीको भ्रमणका क्रममा उद्योग, व्यापार, ऊर्जा, पर्यटन, निर्माण, प्रविधि तथा निर्यात क्षेत्रका प्रतिनिधिसहितको व्यावसायिक टोली नयाँ दिल्ली जाने भएको हो।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा ५२ सदस्यीय व्यावसायिक प्रतिनिधिमण्डल सहभागी हुने जानकारी दिएका हुन्।
भ्रमण टोलीमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा, उपाध्यक्ष कृष्णप्रसाद शर्मा, महानिर्देशक डा. गोपालप्रसाद तिवारी तथा कार्यसमिति सदस्यहरू सुनिता नेमाफुकी, बटु लामिछाने, उज्ज्वल श्रेष्ठ, सागर ढकाल, नीरज काफ्ले र शिवकुमार अग्रवाल रहेका छन्।
त्यस्तै, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वअध्यक्ष राजेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाणकुमार चौधरी र राजबहादुर शाह पनि टोलीमा सहभागी हुनेछन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा पनि भारत जाने सूचीमा छन्।
ऊर्जा तथा निर्माण क्षेत्रबाट स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगी, निवर्तमान अध्यक्ष गणेश कार्की र पुष्कर पौडेल तथा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पाण्डे सहभागी हुनेछन्।
यसैगरी, निर्यात व्यवसायी महासङ्घ नेपालका अध्यक्ष गोविन्दप्रसाद घिमिरे, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल हस्तकला महासङ्घका अध्यक्ष रवीन्द्र शाक्य र नेपाल कफी व्यवसायी महासङ्घका उपाध्यक्ष सरोज श्रेष्ठ पनि व्यावसायिक प्रतिनिधिमण्डलमा रहनेछन्।
विभिन्न उद्योग तथा व्यावसायिक घरानाबाट विष्णुकुमार अग्रवाल, दिलीप अग्रवाल, बीवाईडी गाडीको नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंककी यमुना श्रेष्ठ, आईएमई ग्रुपका सचिन ढकाल र भाटभटेनी ग्रुपका कल्याण गुरुङ सहभागी हुँदैछन्।
त्यस्तै, जीवानाथ लामिछाने, सञ्जय शाक्य, दीपक थापा, नितेश मालपानी, टुकप्रसाद पौडेल, दिरेकलाल श्रेष्ठ, अनुप आचार्य, नरेश दास र राजनकुमार बन पनि भारत जाने टोलीमा समेटिएका छन्।
पर्यटन तथा अटोमोबाइल क्षेत्रको प्रतिनिधित्व गर्दै होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपालका अध्यक्ष सागर पाण्डे, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष भरतजंग पाण्डे र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती पनि भ्रमणमा सहभागी हुनेछन्।
प्रविधि, औषधि तथा उत्पादनमूलक उद्योग क्षेत्रबाट नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनीज (नास–आइटी) का उपाध्यक्ष विभूषण विष्ट, नेपाल औषधि उत्पादक सङ्घका अर्जुनकुमार श्रेष्ठ र गार्मेन्ट एसोसिएसन नेपालका अध्यक्ष पशुपति देव पाण्डे टोलीमा रहनेछन्।
त्यसैगरी, नेपाल घरेलु तथा साना उद्योग महासङ्घकी अध्यक्ष शोभा गुरुङ, महिला उद्यमी महासङ्घ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठ र सचिव दिकिला शेर्पा लामा पनि दिल्ली जाने सूचीमा छन्।
नेपाल–भारत उद्योग वाणिज्य सङ्घ (निक्की) का अध्यक्ष कुनाल कयाल, निवर्तमान अध्यक्ष सुनिल केसी र उपाध्यक्ष करण चौधरी तथा नेपाल उद्योग व्यापार महासङ्घका अध्यक्ष खिमनारायण पराजुली पनि व्यावसायिक प्रतिनिधिमण्डलमा सहभागी हुनेछन्।
प्रधानमन्त्रीको भारत भ्रमणमा निजी क्षेत्रको उल्लेख्य सहभागितालाई नेपाल–भारतबीच व्यापार, लगानी, औद्योगिक सहकार्य तथा आर्थिक सम्बन्ध विस्तारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
