नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ को साढे तीन महिनाको अवधिमा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म दर्ता भएका छन्।
एकीकृत सेवा कार्यालय कावासोतीका अनुसार गत कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग र ११२ वटा वाणिज्य फर्म दर्ता भएका हुन्।
कार्यालयका सूचना अधिकारी ज्ञानप्रसाद भुसालका अनुसार यस अवधिमा ६२ वटा उद्योगको लगत कट्टा गरिएको छ भने ४९७ वटा उद्योग नवीकरण भएका छन्। त्यस्तै, ४४ वटा उद्योगले नाम, पुँजी लगायतका विवरण संशोधन गराएका छन्।
वाणिज्य फर्मतर्फ १११ वटाको लगत कट्टा भएको छ भने ६५० वटा नवीकरण भएका छन्। यसैगरी, ६० वटा वाणिज्य फर्मले आफ्नो विवरण संशोधन गराएका छन्।
महिनागत विवरणअनुसार साउनमा २३, भदौमा २९, असोजमा ३३ र कात्तिकमा सातवटा नयाँ उद्योग दर्ता भएका छन्। त्यस्तै, वाणिज्य फर्मतर्फ साउन र भदौमा समान ३८, असोजमा २६ र कात्तिकमा १० वटा नयाँ फर्म दर्ता भएका छन्।
कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा हाल ६ हजार ७९९ वटा उद्योग कायम छन्। तीमध्ये पाँच हजार ८८६ वटा साना, ८९९ वटा घरेलु, १३ वटा लघु र एउटा मझौला उद्योग रहेका छन्।
स्वामित्वका आधारमा जिल्लामा सातवटा पब्लिक लिमिटेड, १९७ वटा साझेदारी उद्योग, ३२१ वटा प्राइभेट लिमिटेड कम्पनी र छ हजार २७३ वटा निजी फर्म सञ्चालनमा छन्।
क्षेत्रगत रूपमा कृषि तथा वन पैदावारमा आधारित दुई हजार ९४०, सेवामूलक दुई हजार ६००, उत्पादनमूलक एक हजार २९, ऊर्जामूलक १२४, निर्माणसम्बन्धी ३७, सूचना तथा प्रविधिमा आधारित २४, पर्यटनसम्बन्धी १६ र खनिज क्षेत्रका आठवटा उद्योग कायम छन्।
त्यसैगरी, जिल्लामा हाल आठ हजार ६१३ वटा वाणिज्य फर्म कायम रहेका छन्। तीमध्ये आठ हजार ५२३ वटा एकलौटी र ९० वटा साझेदारी फर्म हुन्।
कायम रहेका वाणिज्य फर्ममध्ये आठ हजार ६११ वटाले स्थानीय व्यापारलाई आफ्नो उद्देश्य बनाएका छन् भने एक–एकवटा फर्म आयात र निर्यात व्यापारका लागि दर्ता भएका छन्। कारोबारको प्रकृतिअनुसार १८१ वटा फर्म थोक र आठ हजार ४३२ वटा खुद्रा व्यापारका लागि दर्ता भएका छन्।
सूचना अधिकारी भुसालका अनुसार जिल्लामा उद्योग तथा वाणिज्य फर्म दर्ता, नवीकरण र विवरण संशोधनको प्रक्रिया नियमित रूपमा भइरहेको छ।