२०८३ मंसिर ८ सोमबार

नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आह्वान

ई आर्थिक    सोमबार, मंसिर ८ २०८३
323
Shares
नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आह्वान

नयाँदिल्ली । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आह्वान गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले आइतबार नयाँदिल्लीमा आयोजित नेपाल–भारत बिजनेस राउन्डटेबललाई सम्बोधन गर्दै भारतीय लगानीकर्तालाई नेपालमा नयाँ लगानी गर्न तथा भइरहेको लगानी विस्तार गर्न आग्रह गरेका हुन्।

नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसङ्घ (सिआइआई)ले आयोजना गरेको कार्यक्रममा उनले सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीजस्ता क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको बताए।

‘सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गर्दछु,’ अर्थमन्त्री वाग्लेले भने, ‘नेपालमा लगानी गरेकाहरूले लगानी विस्तार गर्नुहोस्। नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो।’

उनले नेपालमा लगानीको वातावरण थप सहज बनाउन सरकारले कानुनी तथा नीतिगत सुधारलाई प्राथमिकता दिएको पनि स्पष्ट पारे। लगानीमैत्री कानुनी व्यवस्था निर्माण गर्दै लगानीकर्ताका समस्या समाधानका लागि सरकारले काम गरिरहेको उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र लगानीबाट प्राप्त नाफा स्वदेश फिर्ता लैजान आवश्यक कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल गरिरहेको जानकारी दिए।

कार्यक्रममा भारतका उद्योग वाणिज्य राज्यमन्त्री जितिनप्रसाद र भारतीय उद्योग परिसङ्घ (सिआइआई) अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनीलगायतले सम्बोधन गरेका थिए।

कार्यक्रममा प्रधानमन्त्री शाहको भ्रमण टोलीसँगै भारत पुगेका नेपाली उद्योगी तथा व्यवसायी, डेढ दर्जनभन्दा बढी भारतीय उद्योगी व्यवसायी र प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij