काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन सुदृढीकरण, राजनीतिक प्रशिक्षण तथा निर्वाचन तयारीलाई लक्षित गर्दै ६ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार प्रशिक्षण कार्यक्रम पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरिनेछ। कर्णालीमा शनिबार र आइतबार तथा सुदूरपश्चिममा मङ्सिर १४ र १५ गते प्रशिक्षण सञ्चालन हुनेछ।
अन्य प्रदेशमा पनि क्रमशः प्रशिक्षण कार्यक्रम आयोजना गरिने प्रवक्ता खरेलले जानकारी दिनुभयो।
कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम छ। प्रशिक्षणमा उपसभापति सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्यसहित पार्टीका विभिन्न पदाधिकारी तथा नेताहरू सहभागी हुनेछन्।
दुईदिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्य–मान्यता, अनुशासन तथा राजनीतिक संस्कारका विषयमा प्रशिक्षण दिइने रास्वपाले जनाएको छ। त्यस्तै, क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीको अवधारणा र कार्यदिशा, पार्टी संगठनको सशक्तीकरण, परिचालन, विस्तार तथा संरचनागत सुदृढीकरणबारे पनि छलफल हुनेछ।
प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका पार्टी नेतृत्वसँग संगठनको वर्तमान अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीका विषयमा केन्द्रीय नेतृत्वले छलफल गर्ने कार्यक्रम रहेको छ।
दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र तथा प्रतिबद्धता कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनबारे प्रशिक्षण दिइनेछ।
यसैगरी, पार्टीको ब्रान्डिङ, प्रचारप्रसार तथा सामाजिक सञ्जालको प्रभावकारी प्रयोगका विषयमा पनि प्रशिक्षण दिइने प्रवक्ता खरेलले बताउनुभयो।
कार्यक्रमको अन्तिम सत्रमा पार्टी सभापति रवि लामिछानेले पार्टीको राजनीतिक कार्यदिशा, प्राथमिकता र आगामी रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।