इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विमानस्थलमा आफूलाई पटक–पटक कडा सुरक्षा जाँच गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनले विमानस्थलमा आफूलाई अपराधी वा तस्करजस्तो व्यवहार गरिएको गुनासो गरेका हुन्।
शनिबार इलाम पुगेका ओलीले लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको बैठकलाई सम्बोधन गर्दै काठमाडौं र भद्रपुर विमानस्थलमा आफूले भोगेको सुरक्षा जाँचबारे असन्तुष्टि व्यक्त गरे।
उनका अनुसार विमानस्थलमा मेटल डिटेक्टरबाट पटक–पटक जाँच गर्नुका साथै शरीरसमेत खानतलासी गरिएको थियो। एउटै स्थानमा मेटल डिटेक्टरबाट जाँच गरिसकेपछि पुनः अर्को ढोकामा समेत त्यस्तै जाँच गरिएको उनले बताए।
‘मेटल डिटेक्टर लगाएको छ, यो गर्या छ, उ गर्या छ। के निकाल्न खोज्या? के बरामद गर्न खोज्या?’ ओलीले प्रश्न गरे।
आफू लागुऔषध सेवन गर्ने व्यक्ति नभएको भन्दै ओलीले सुरक्षा जाँचको शैलीप्रति व्यंग्यसमेत गरे। ‘म न गँजडी, न जड्याहा, न ड्रगिस्ट। के खोज्या हो ?’ उनले भने।
आफूसँग कुनै अवैध वस्तु नरहेको दाबी गर्दै उनले सुनतर्फ संकेत गर्दै भने, ‘न मसँग १९० तोला सुन छ, न कतै लुकाएको केही छ।’
ओलीले विमानस्थलमा यात्रुमाथि कडा सुरक्षा जाँच गरिए पनि सीमा नाकाबाट हुने तस्करी नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाए।
‘ट्रकका ट्रक तस्करी सिमानाबाट भएको भइछ। एयरपोर्टमा चाहिँ मेरो शरीरमा डिटेक्टर लगाउँछ,’ उनले भने।
विमानस्थलमा एउटै व्यक्तिलाई पटक–पटक जाँच गरिनु आवश्यक नभएको बताउँदै ओलीले यस्तो शैलीलाई ‘तमासा’को संज्ञा दिए। ‘एक ठाउँ जाँचेपछि त पुग्नुपर्ने, फेरि अर्को ठाउँ जाँच गर्छ,’ उनले भने।
ओलीले विमानस्थलको सुरक्षा जाँचको आवश्यकता अस्वीकार नगरे पनि जाँच गर्ने शैली र पटक–पटक गरिने खानतलासीप्रति आपत्ति जनाएका छन्।