काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार तथा पुनर्स्थापना) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदामाथि सार्वजनिक राय, सुझाव तथा टिप्पणी माग गरेको छ।
मन्त्रालयले साउन २८ गतेको निर्णयअनुसार विधेयकसम्बन्धी राय, सुझाव वा टिप्पणी भए निर्धारित ढाँचामा उपलब्ध गराउन आग्रह गरेको हो। मन्त्रालयको कानून शाखाले सम्बन्धित सरोकारवाला तथा सर्वसाधारणलाई विधेयकको मस्यौदा अध्ययन गरी सुझाव पठाउन आह्वान गरेको छ।
मन्त्रालयका अनुसार प्राप्त हुने राय, सुझाव तथा टिप्पणीलाई विधेयकको मस्यौदा परिमार्जन तथा आवश्यक कानूनी प्रक्रिया अघि बढाउने क्रममा समेटिनेछ। मन्त्रालयको कानून शाखाले स्वास्थ्यसम्बन्धी आवश्यक ऐन तथा नियमावली तर्जुमा, परिमार्जन तथा कानूनी राय–सुझाव दिने कार्य गर्दै आएको छ।
मन्त्रालयले तोकेको ७ दिनको समयसीमा अर्थात् भाद्र ३ गतेसम्म राय, सुझाव वा टिप्पणी पठाउनुपर्नेछ। सुझावहरू मन्त्रालयको कानून शाखाको इमेल [email protected] मा पठाउन सकिनेछ।