२०८३ भाद्र १ सोमबार

विद्युत प्राधिकरणले गर्‍यो १ खर्ब ६६ अर्ब आम्दानी, नाफा ३१ अर्ब २३ करोड

ई आर्थिक    सोमबार, भाद्र १ २०८३
95
Shares
विद्युत प्राधिकरणले गर्‍यो १ खर्ब ६६ अर्ब आम्दानी, नाफा ३१ अर्ब २३ करोड

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ मा विद्युत् बिक्री तथा अन्य आम्दानीबाट १ खर्ब ६६ अर्ब रुपैयाँ आम्दानी गरेको छ। कार्यसम्पादन सुधार, विद्युत् चुहावट नियन्त्रण र विद्युत् निर्यातमा भएको वृद्धिले प्राधिकरणको नाफा पनि बढेको छ।

प्राधिकरणका अनुसार समीक्षा अवधिमा कुल नाफा १३.१७ प्रतिशतले बढेर ३१ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। पछिल्लो समय विद्युत् चुहावट नियन्त्रणसँगै निर्यात बढ्दा प्राधिकरणको वित्तीय अवस्थामा सुधार आएको हो।

नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय विद्युत् निर्यातलाई आम्दानीको महत्वपूर्ण स्रोतका रूपमा विकास गर्दै गएको छ।

प्राधिकरणको ४१औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालले १७ अर्ब ४७ करोड १० लाख रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ।

नेपालको विद्युत् निर्यातको मुख्य बजार भारत बनेको छ। वर्षायाममा उत्पादन बढी भएर खेर जाने अवस्थाको बिजुली भारतीय ऊर्जा बजारको डे–अहेड मार्केट (आईईएक्स) तथा द्विपक्षीय सम्झौतामार्फत बिक्री गर्दै प्राधिकरणले उक्त आम्दानी गरेको हो। केही वर्षअघिसम्म हिउँदमा भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको नेपाल अहिले वर्षायाममा ठूलो परिमाणमा बिजुली निर्यात गर्ने अवस्थामा पुगेको छ।

प्राधिकरणले विद्युत् व्यापारलाई भारतमा मात्र सीमित नराखी क्षेत्रीय बजारतर्फ पनि विस्तार गरिरहेको छ। नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअन्तर्गत भारतको प्रसारण संरचना प्रयोग गरेर बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रतिवेदनमा उल्लेख छ। यसबाट नेपालको विद्युत् व्यापारका लागि थप क्षेत्रीय बजार खुल्ने अपेक्षा गरिएको छ।

प्राधिकरणका अनुसार विद्युत् निर्यातबाट प्राप्त आम्दानीले नेपालको शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिमा समेत सकारात्मक योगदान पुर्‍याएको छ। बढ्दो व्यापार घाटा न्यूनीकरणमा समेत विद्युत् निर्यातको भूमिका महत्वपूर्ण बन्दै गएको प्रतिवेदनले जनाएको छ।

विद्युत् निर्यात बढाउन प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा विद्यमान सबस्टेसनको क्षमता विस्तारलाई प्राथमिकतामा राखेको छ।

सरकारले सन् २०३५ सम्म छिमेकी मुलुकमा १० हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने लक्ष्य लिएको छ। उक्त लक्ष्य हासिल गर्न आवश्यक पूर्वाधार विस्तारमा प्राधिकरणले जोड दिएको छ।

नेपालमा जलविद्युत् उत्पादन क्षमता विस्तार भइरहेका बेला त्यसको बजार सुनिश्चित गर्न क्षेत्रीय विद्युत् व्यापारलाई प्राथमिकता दिन थालिएको छ। भारतपछि बंगलादेशसम्म बजार विस्तार गर्ने प्रयासले नेपालको विद्युत् व्यापारलाई थप प्रतिस्पर्धी र क्षेत्रीय स्वरूप दिने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij