२०८३ साउन ३१ आइतबार

इन्डोनेसियामा खडेरीले पानीमुनि डुबेको दशक पुरानो गाउँ फेरि सतहमा

ई आर्थिक    शुक्रबार, साउन २९ २०८३
684
Shares
इन्डोनेसियामा खडेरीले पानीमुनि डुबेको दशक पुरानो गाउँ फेरि सतहमा

जकार्ता । इन्डोनेसियामा लामो समयदेखि जारी गम्भीर खडेरीका कारण एक दशकअघि जलाशय निर्माणका क्रममा पानीमुनि डुबेको पुरानो गाउँ फेरि सतहमा देखिन थालेको छ।

बान्टेन प्रान्तस्थित करियन जलाशयमा पानीको सतह अत्यधिक घटेपछि सोमाङ गाउँका पुराना घर, सडक, घरका जग तथा मस्जिदका भग्नावशेष बाहिर देखिएका हुन्।

ग्रेटर जकार्ता क्षेत्रमा पानी आपूर्ति गर्ने उद्देश्यले सन् २०१५ देखि २०२३ बीच निर्माण गरिएको जलाशयमा पछिल्लो चार महिनादेखि पर्याप्त वर्षा हुन नसक्दा पानीको सतह निकै तल झरेको छ।

इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सी (बीएमकेजी)का अनुसार यस वर्ष देशले लामो समयदेखि एल निनोको प्रभाव सामना गरिरहेको छ। यसको असर देशका आधाभन्दा बढी क्षेत्रमा गम्भीर खडेरी तथा डढेलोको जोखिमका रूपमा देखिएको छ।

डढेलोको जोखिम बढ्यो

खडेरीका कारण इन्डोनेसियाका विभिन्न क्षेत्रमा डढेलोको जोखिमसमेत उच्च भएको छ। जाभा टापुस्थित एक राष्ट्रिय निकुञ्जमा लागेको भीषण डढेलोले पाँच सय हेक्टरभन्दा बढी वन क्षेत्र प्रभावित भएको छ।

डढेलोका कारण पर्यटकका लागि लोकप्रिय ब्रोमो टेंगर सेमेरु राष्ट्रिय निकुञ्जसमेत बन्द गर्नुपरेको छ। मौसमविद्हरूले आगामी महिनामा खडेरी र डढेलोको समस्या अझ गम्भीर हुन सक्ने चेतावनी दिएका छन्।

जलाशयमा पानीको मात्रा घट्दै जाँदा स्थानीय बासिन्दाले पिउने पानीदेखि दैनिक जीवनयापनसम्म कठिनाइ भोगिरहेका छन्। यसैबीच पानीमुनि रहेका पुराना संरचना बाहिर आएपछि उक्त स्थानले स्थानीय तथा पर्यटकको ध्यान आकर्षित गरेको छ।

तर विस्थापित स्थानीय बासिन्दाका लागि भने वर्षौंपछि देखिएको पुरानो गाउँको दृश्य उत्सुकताको विषयभन्दा बढी पीडाको कारण बनेको छ।

सोमाङ गाउँका स्थानीय हुसेनले विगतमा आफ्नै खेतमा धान उत्पादन गरेर जीविकोपार्जन गर्न सहज रहेको बताए। अहिले भने आम्दानी गर्न कठिन भएको र दैनिक जीवन धान्न थप मेहनत गर्नुपरेको उनको भनाइ छ।

अर्की स्थानीय बासिन्दा सुकेनाहले पुरानो गाउँ छाडेपछि आफन्तहरूबाट टाढिनुपरेको बताइन्। एउटै छानामुनि परिवार र छिमेकीसँग बसेको विगत सम्झिँदै उनले अहिलेको अवस्थाले आफूलाई निकै पीडा दिने बताइन्।

नोभेम्बर–डिसेम्बरसम्म खडेरी चरममा पुग्ने अनुमान

मौसम विज्ञहरूले इन्डोनेसियामा देखिएको खडेरी तत्काल अन्त्य हुने अवस्था नरहेको बताएका छन्।

राष्ट्रिय अनुसन्धान तथा नवप्रवर्तन एजेन्सीकी चरम मौसम तथा जलवायु विशेषज्ञ एर्मा युलिहास्टिनका अनुसार अहिलेको अवस्था खडेरीको अन्तिम चरण नभई ‘सुपर’ चरणको सुरुवात हो।

उनका अनुसार खडेरीको प्रभाव नोभेम्बर र डिसेम्बर २०२६ बीचमा चरम अवस्थामा पुग्न सक्ने अनुमान गरिएको छ।

यसले इन्डोनेसियामा खानेपानी, कृषि, वन तथा जनजीवनमा थप दबाब सिर्जना हुन सक्ने चिन्ता बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij