काठमाडौँ। करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुने योग्य कारोबार संख्या पहिलो १५ दिनमै करिब ११ लाख पुगेको छ। आन्तरिक राजस्व विभागका अनुसार सोमबार मध्याह्न १२ बजेसम्म उपहार कार्यक्रमका लागि योग्य कारोबार तथा बिलको संख्या १० लाख ८२ हजार ६२२ पुगेको हो।
विभागका अनुसार साउन १ गतेदेखि साउन १५ गतेसम्म क्यूआरमार्फत गरिएका १० लाख ७४ हजार ७९६ कारोबार उपहार कार्यक्रममा सहभागी हुन योग्य रहेका छन्। त्यस्तै, नगद कारोबारपछि प्राप्त भौतिक बिल प्रणालीमा अपलोड गर्ने सुविधा सञ्चालन भएपछि ३ हजार ४२७ वटा बिलसमेत कार्यक्रमका लागि योग्य भएका छन्।
विभागका सूचना अधिकारी केशव रघुवंशीले उपहार घोषणा हुनुअघि नगद कारोबार गरेर प्राप्त भौतिक बिल अझै पनि प्रणालीमा प्रविष्ट गर्न सकिने भएकाले योग्य कारोबारको संख्या थप बढ्ने अपेक्षा गरिएको बताउनुभयो।
विभागले पहिलो चरणमा साउन १ देखि १५ गतेसम्मका कारोबारका आधारमा १५ जना उपभोक्तालाई दैनिक एक–एक लाख रुपैयाँ तथा एक जनालाई बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ प्रदान गर्ने तयारी गरेको छ। पहिलो उपहार घोषणा साउन १६ गते गर्ने योजना रहे पनि प्राविधिक तयारी पूरा नभएका कारण केही दिन ढिलाइ भएको विभागले जनाएको छ।
पहिलो चरणको उपहार घोषणा गर्नुअघि नगद कारोबार गरेर बिल लिएका सबै उपभोक्तालाई आफ्नो बिल करदाता प्रोत्साहन पोर्टलमा प्रविष्ट गर्न विभागले आग्रह गरेको छ।
विभागले शनिबारदेखि करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा ल्याएको हो। चालु आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम घोषणा गर्नुभएको थियो।
कार्यक्रमअनुसार एक सय रुपैयाँभन्दा बढी मूल्यका वस्तु तथा सेवा खरिद गरी वैध बिल लिने उपभोक्ता सहभागी हुन सक्नेछन्। सरकारले प्रत्येक दिन एक जना विजेतालाई कर कट्टीपछि एक लाख रुपैयाँ तथा प्रत्येक १५ दिनमा एक जनालाई बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ प्रदान गर्ने व्यवस्था गरेको छ। बम्पर पुरस्कार रकममा प्रचलित कानुनअनुसार कर कट्टी गरिनेछ।