२०८३ साउन २० बुधबार

एलपी ग्यासको कृत्रिम अभाव नगर्न विभागको चेतावनी, अनुगमनपछि व्यवसायीलाई निर्देशन र जरिबाना

ई आर्थिक    मंगलबार, साउन १९ २०८३
513
Shares
एलपी ग्यासको कृत्रिम अभाव नगर्न विभागको चेतावनी, अनुगमनपछि व्यवसायीलाई निर्देशन र जरिबाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने उद्योग तथा व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ। बजारमा ग्यास अभावको गुनासो बढेपछि विभागले काठमाडौं उपत्यकामा केन्द्रित विशेष अनुगमन सञ्चालन गर्दै आवश्यक निर्देशन र कारबाही अघि बढाएको हो।

विभागले सोमबार काठमाडौं उपत्यकाका ११ वटा उद्योग तथा व्यवसायिक फर्ममा अनुगमन गरी ग्यासको बिक्री–वितरण, मूल्य, बिलबीजक तथा उपभोक्ता हितसम्बन्धी मापदण्डको पालना गर्न निर्देशन दिएको जनाएको छ।

विभागका निर्देशक तथा सूचना अधिकारी अनिल किराँतीका अनुसार पछिल्ला केही दिनयता बजारमा एलपी ग्यास अभावको गुनासो बढेपछि डिलर र उद्योगलाई लक्षित गरी अनुगमन तीव्र बनाइएको हो। अनुगमनका क्रममा ग्यासको माग उल्लेखनीय रूपमा बढेको र त्यसकै कारण आपूर्तिमा दबाब परेको पाइएको विभागको निष्कर्ष छ।

अनुगमनका क्रममा पेप्सीकोलास्थित सगरमाथा ग्यास उद्योग लाई कृत्रिम अभाव सिर्जना नगर्न तथा ग्यासको समानुपातिक बिक्री–वितरण गर्न निर्देशन दिइएको छ। यस्तै डल्लुस्थित सिम्रन ग्यास स्टोर र चण्डिनीनगरस्थित युवा इन्टरप्राइजेज लाई पनि उपभोक्तामाझ निष्पक्ष रूपमा ग्यास वितरण गर्न सचेत गराइएको विभागले जनाएको छ।

ललितपुरको खोकना दोबाटोस्थित उमङ्ग इन्टरप्राइजेजसरस्वती खाद्य किराना पसल लाई अनिवार्य रूपमा बिल जारी गरी न्यायोचित ढंगले ग्यास बिक्री–वितरण गर्न निर्देशन दिइएको छ।

यसैगरी, काठमाडौंका महालक्ष्मी गर्ल्स होस्टेल, न्यु लक्ष्मी खाजा उद्योग, गट्ठाघर बर्गर हाउसहिमालयन हिल्स फुड्स लाई सरसफाइ कायम राख्न, मूल्य सूची प्रदर्शन गर्न, नापतौलको मापदण्ड पालना गर्न तथा बिलबीजक व्यवस्थित गर्न विभागले सचेत गराएको छ।

विभागका अनुसार भक्तपुरको मध्यपुर थिमि–९, राधेराधेस्थित दी बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन लाई खरिद बिल नराखेको कसुरमा पाँच हजार रुपैयाँ जरिबाना गरिएको छ।

यस्तै, ललितपुरको भैंसेपाटीस्थित हेल्दी बाइट्स सर्भिसेस लाई व्यवसाय दर्ता, प्यान, कर चुक्ता र बिलबीजकलगायत आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

विभागले बजारमा उपभोक्ताको हितविपरीत कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यमा अनियमितता गर्ने वा कानुनी व्यवस्था उल्लंघन गर्ने व्यवसायीमाथि आगामी दिनमा पनि कडा अनुगमन र आवश्यक कारबाही जारी रहने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij