२०८३ साउन १८ सोमबार

विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरीको पाँच घण्टा छापा, केही नभेटिएपछि रित्तो हात फर्कियो

ई आर्थिक    सोमबार, साउन १८ २०८३
665
Shares
विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरीको पाँच घण्टा छापा, केही नभेटिएपछि रित्तो हात फर्कियो

विराटनगर । विराटनगरका प्रतिष्ठित उद्योगी तथा मुन्दडा समूहका सञ्चालक प्रकाश मुन्दडाको निवासमा प्रहरीले सोमबार बिहान छापा मारेर पाँच घण्टाभन्दा बढी समय खानतलासी गरेको छ।

नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्यसमेत रहेका मुन्दडाको घरमा बिहान करिब पौने ५ बजे एक दर्जनभन्दा बढी सवारीसाधनमा पुगेको प्रहरी टोलीले विस्तृत खोजतलास गरेको हो। जिल्ला प्रशासन कार्यालय मोरङ र वडा प्रहरी कार्यालय नजिकै रहेको निवासमा गरिएको खानतलासीको कारणबारे भने प्रशासनले औपचारिक रूपमा केही खुलाएको छैन।

मोरङ प्रहरीले गृह मन्त्रालयको निर्देशनअनुसार अनुसन्धानका क्रममा खानतलासी गरिएको जनाएको छ। प्रहरी टोलीले घरका कोठा, भान्छा, दराज तथा अन्य सबै स्थानमा विस्तृत जाँच गरेको थियो।

खानतलासीपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उद्योगी प्रकाश मुन्दडाले प्रहरीले आफ्नो नियमित जिम्मेवारीअनुसार खोजतलास गरेको र घरबाट कुनै पनि सामग्री नलगेको बताए।

“उहाँहरूलाई कुनै सूचना आएको होला, त्यसकै आधारमा आफ्नो ड्युटी गर्नुभयो। घरको किचनदेखि सबै कोठा र दराजसम्म जाँच गर्नुभयो। कुनै सामान लैजानुभएन र अन्ततः केही नभेटिएको भन्दै फर्किनुभयो,” मुन्दडाले भने।

प्रहरीले खानतलासीका क्रममा जिल्ला प्रशासन कार्यालय र गोल्छामोडतर्फका सडक केही समयका लागि बन्द गरी सर्वसाधारणको आवतजावतसमेत नियन्त्रण गरेको थियो।

खानतलासीको खबरपछि नेपाली कांग्रेस, नेकपा (एमाले) लगायत विभिन्न राजनीतिक दलका केही नेताहरू पनि मुन्दडा निवास पुगेका थिए।

पाँच घण्टापछि घरबाट बाहिरिएका उद्योगी बेनीगोपाल मुन्दडाले प्रहरीले घरबाट कुनै सामग्री बरामद नगरेको र केही पनि फेला नपरेको बताए। घटनाबारे प्रहरीले भने हालसम्म विस्तृत औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

मुन्दडा समूहले बाबा आयल, जुट उद्योग तथा जेजे ज्वेलर्ससहित विभिन्न औद्योगिक प्रतिष्ठान सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij