गाजा सिटी (प्यालेस्टिनी क्षेत्र)। हमासका वरिष्ठ अधिकारीहरूले गाजामा युद्ध अन्त्य गर्ने उद्देश्यले इजरायलसँग भएको सहमतिमा समूहका हतियारको व्यवस्थापन तथा गाजा पट्टीबाट इजरायली सेनाको चरणबद्ध फिर्तीसम्बन्धी प्रावधान समावेश गरिएको बताएका छन् । उनीहरूका अनुसार यो सहमति करिब छ महिनादेखि जारी कठिन वार्तापछि सम्भव भएको हो र अब कार्यान्वयनको विस्तृत प्रक्रिया तय गर्ने चरण सुरु हुनेछ ।
हमासका एक वरिष्ठ अधिकारीले एएफपीसँग कुराकानी गर्दै हतियारसम्बन्धी विषयमा सहमति भइसकेको र त्यससँगै इजरायली सेनाको गाजाबाट क्रमिक फिर्तीको ढाँचा पनि तय गरिएको जानकारी दिनुभयो । उहाँले अब मध्यस्थकर्ता तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति बोर्डले इजरायललाई सहमतिका सबै दायित्व कार्यान्वयन गराउन भूमिका खेल्ने अपेक्षा गरिएको बताउनुभयो ।
हमासको वार्ता टोलीका सदस्य गाजी हमादका अनुसार गाजाका सर्वसाधारणको हत्या र विस्थापन अन्त्य गर्ने उद्देश्यले आन्दोलनले आवश्यक सहुलियत दिएको हो । उहाँले हतियारको विषयलाई इजरायली फिर्ती, गाजामा राष्ट्रिय समितिको तैनाती, पुनर्निर्माण तथा त्यससम्बन्धी समग्र राजनीतिक व्यवस्थासँग जोडिएको विषयका रूपमा व्याख्या गर्नुभयो ।
हमादले इजरायलले हमासको निःशस्त्रीकरण प्रक्रियामा प्रत्यक्ष हस्तक्षेप नगर्ने र त्यसको जिम्मेवारी गाजा प्रशासनका लागि राष्ट्रिय समिति (एनसिएजी) ले लिने सहमति भएको बताउनुभयो । उहाँका अनुसार उक्त समितिले सहमत समयतालिकाअनुसार हतियारको सूचीकरण, भण्डारण र व्यवस्थापन गर्नेछ तथा गाजामा हतियार राख्ने, सुरक्षित भण्डारण गर्ने र नियन्त्रण गर्ने अधिकार पनि सोही निकायसँग रहनेछ ।
शान्ति बोर्डको पहलमा गठन गरिएको राष्ट्रिय समिति अझैसम्म गाजा प्रवेश गर्न नसकेको भए पनि सम्झौताले त्यसको भूमिकालाई औपचारिक मान्यता दिएको अधिकारीहरूले बताएका छन् ।
हमादका अनुसार युद्ध अन्त्य, गाजामा राष्ट्रिय समितिको प्रवेश, इजरायली सेनाको फिर्ती, पुनर्निर्माण तथा अन्तर्राष्ट्रिय सुरक्षा बलको सम्भावित तैनाती सबै एकीकृत ढाँचाअन्तर्गत अघि बढाइनेछ । उहाँले यी सबै विषय एकअर्कासँग अन्तरसम्बन्धित भएकाले कुनै पनि पक्षलाई छुट्टाछुट्टै कार्यान्वयन गर्न नसकिने स्पष्ट पार्नुभयो । साथै गाजामा सक्रिय अन्य सशस्त्र समूहको व्यवस्थापन पनि सोही प्रक्रियाअन्तर्गत हुने बताउनुभयो ।
उहाँका अनुसार अब हमासले मध्यस्थकर्तासँग कार्यान्वयनका प्राविधिक विवरण र समयतालिकामाथि छलफल गर्नेछ । यो प्रक्रिया करिब १४ दिन वा त्यसभन्दा बढी समयसम्म चल्न सक्ने उहाँको भनाइ छ । कार्यान्वयनको विधि, समय र संयन्त्रका सबै पक्षमा सहमति भएपछि मात्र सम्झौता पूर्ण रूपमा लागू हुनेछ ।
हमादले इजरायलले आफ्ना प्रतिबद्धता पूरा गरेमात्र हमासले पनि सहमति कार्यान्वयन गर्ने स्पष्ट गर्दै कुनै एक पक्षले सम्झौता उल्लङ्घन गरे अर्को पक्ष पनि त्यसमा बाध्य नहुने बताउनुभयो ।
यसै महिनाको प्रारम्भमा हमासले करिब दुई दशकदेखि गाजामा सञ्चालन गर्दै आएको आफ्नो प्रशासनिक निकाय विघटन गर्ने घोषणा गरेको थियो । त्यसपछि २० लाखभन्दा बढी जनसङ्ख्या रहेको गाजामा नागरिक प्रशासन सञ्चालन गर्न राष्ट्रिय समितिका लागि बाटो खुलेको हो । यसलाई हमासको महत्त्वपूर्ण राजनीतिक परिवर्तनका रूपमा हेरिएको छ । हमासले सन् २००७ मा फताहबाट गाजाको नियन्त्रण आफ्नो हातमा लिएको थियो ।
वरिष्ठ अधिकारीका अनुसार हमासका हतियारको सूचीकरण र व्यवस्थापनको प्रक्रिया गाजामा इजरायलले नियन्त्रणमा लिएका क्षेत्रबाट चरणबद्ध रूपमा सेना फिर्ता गर्ने प्रक्रियासँग समानान्तर रूपमा अघि बढ्नेछ र अन्ततः पूर्ण फिर्तीमा पुग्ने लक्ष्य राखिएको छ ।
गत अक्टोबर १० देखि युद्धविराम लागू भएयता पनि इजरायली सेनाले गाजा पट्टीमा आफ्नो नियन्त्रण विस्तार गर्दै आएको छ । हाल गाजाको ६० प्रतिशतभन्दा बढी भूभाग इजरायली सेनाको नियन्त्रणमा रहेको बताइएको छ । युद्धविराम कायम रहे पनि गाजामा दैनिक हिंसात्मक घटना जारी छन् र इजरायली सेनाले आफ्ना आक्रमण हमास लडाकूलाई लक्षित भएको दाबी गर्दै आएको छ । रासस/एएफपी