२०८३ साउन १३ बुधबार

स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न

ई आर्थिक    बुधबार, साउन १३ २०८३
114
Shares
स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न

काठमाडौं । लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी समन्वय समितिको बैठक सम्पन्न भएको छ। बैठकले अबदेखि नियमित रूपमा बैठक बस्ने निर्णय गर्दै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थासँग सम्बन्धित समस्या समयमै समाधान गर्न समन्वयात्मक भूमिका थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा मङ्गलबार बसेको बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन,२०६६ को दफा ७ बमोजिम स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन हाल सञ्चालनमा रहेको दर्ता तथा नवीकरण प्रणालीलाई सार्वजनिक आह्वानमार्फत अझ प्रभावकारी बनाउने निर्णय गरेको छ।

बैठकले ऐन तथा नियमावलीमा आवश्यक संशोधनका लागि समितिमा आबद्ध सदस्य संस्थाका प्रतिनिधिहरूसँग लिखित सुझाव माग्ने निर्णय पनि गरेको छ। मन्त्रालयले तोकेको इमेलमार्फत सुझाव संकलन गरी ऐन तथा नियमावली संशोधन प्रक्रिया अघि बढाइने जनाइएको छ।

समितिको कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालयले छुट्टै डेडिकेटेड इमेल समूह सञ्चालन गर्ने निर्णय गरेको छ। उक्त इमेलमार्फत बैठकका एजेन्डा,निर्णय तथा अन्य आवश्यक सूचनाको नियमित आदानप्रदान गरिनेछ।

बैठकले हालसम्म भएका कामको समीक्षा,विगतका गतिविधिको दस्तावेजीकरण तथा आगामी कार्ययोजना तयार गर्न तीन सदस्यीय उपसमिति पनि गठन गरेको छ। उपसमितिमा डा.कुन्जाङ शेर्पा, डा.सञ्जिव तिवारी र रोजिना तण्डुकार सदस्य रहेका छन्।

यसैगरी,समितिको अर्को बैठक एक महिनाभित्र बस्ने निर्णय गरिएको छ। नियमित बैठक सञ्चालनबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विषयमा देखिएका समस्या समयमै सम्बोधन हुने तथा आवश्यक नीतिगत निर्णयहरू प्रभावकारी रूपमा अघि बढ्ने विश्वास समितिले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij